बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा आइतबार देखि जात्रा शुरु भएको छ। हरेक वर्ष झै यो वर्ष पनि बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आइतबारदेखि जात्रा (अषाढी मेला) शुरु भएको हो। अषाढी जात्रामा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरमा सवारी हुने चलन रही आएको छ। उक्त मन्दिरमा असार शुक्ल अष्टमी र नवमीका दिन अषाढी मेला लाग्ने गर्दछ। असार शुक्ल अष्टमीको राती भगवतीको बिशेष पूजाआजा हुने त्रिपुरासुन्दरी मन्दिरका मुखिया पदमबहादुर चन्दले जानकारी दिए।

यो जात्रामा भगवतीको सवारी कपाडी गाउँबाट हुने र त्यसपछि कपाडी गाउँबाट भगवती माताको फिर्ती सवारी हुने चन्दको भनाई छ। यो जात्रामा पनि राँगा तथा बोकाको बलि हुने गरेको त्रिपुरासुन्दरी रियाँसी भण्डार निर्माण समितिका अध्यक्ष हिम्मतबहादुर चन्दले बताए। त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। मेला तथा जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन्। यो वर्ष कोरोना भाईरसका कारण अन्य बर्षको तुलनामा दर्शनार्थी कम आएका चन्दले बताए। भारतीय दर्शनार्थीहरु पिसिआर रिपोट लिएर मात्रै नेपाल प्रवेश पाउने भएकाले उनीहरु कोरोना परीक्षण गरेर आएका छन्। त्रिपुरासुन्दरी भगवती मन्दिर नेपाल सरकारले घोषणा गरेका एकसय पर्यकटीकय गन्त्व्यमा समेत पर्दछ । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको दशैं, कार्तिक शुक्ल अष्टमी, चैते दशैं र असार शुक्ल अष्टमीमा मेला तथा जात्रा लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुस