महेन्द्रनगर ७ साउन । बैतडीमा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार अन्य देशको नागरिकता प्राप्त गरेका ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका हुन् ।

एक वर्षको अवधिमा साढे ५ हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको प्रशासनले जनाएको छ। गत आर्थिक वर्ष २०७७÷०७८ मा ५ हजार ५ सय ६४ जनाले नागरिकता बनाएका थिए । जसमा ३ हजार ३ सय ५८ पुरुष र २ हजार २ सय ६ महिला रहेका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

कोरोना महामारीका कारण विभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त संख्यामा नागरिकले नयाँ नागरिकता लिएका हुन् । ४ जनाले वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र लिएका छन् भने १ हजार ८ सय १८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा १ हजार ३ सय ७६ जना पुरुष छन् भने ४ सय ४२ जना महिला रहेका छन् । यसैबीच नागरिकतासम्बन्धी ४ सय ८० वटा गुनासा आएकोमा ३ सय ५३ वटा फर्स्यौट भएका र १० वटा प्रक्रियामा छन्। नागरिकतासम्बन्धी आएका १७ वटा गुनासा भने खारेज भएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुस