अत्तरिया ९ साउन । कैलाली, कञ्चनपुरका मुख्य सडकहरुमा छाडा रुपमा छोडिएका पशु चौपायाहरुमा ट्राफिक प्रहरीले स्टिगर टाँस्न सुरु गरेको छ । पशु चौपायाका कारण सडक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनुपरले टल्कने स्टिकर टास्ने अभियान थालनी गरेको जनाइएको हो ।
दुवै जिल्लाका सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छोडिएका पशु चौपायामा रातको समयमा टल्कने स्टिकर लगाउने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए । रातिको समयमा यसले सवारी चालकले सहजै छाडा चौपायालाई देख्न सक्ने उनको भनाई छ । निरीक्षक भट्टले भीमत्तनगरपालिकाको सहयोगमा २ सय ५० र कृष्णपुर नगरपालिकाको सहयोगमा १ सय रिफ्लेक्टिव वेल्ट सडकमा रहेका छाडा पशुचौपायाहरुको घाँटीमा लगाएको जानकारी दिए । महेन्द्रनगर, गुलरिया लगायतका क्षेत्रमा चलाइएको उक्त अभियानले दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको जानकारी दिए ।
त्यस्तै कैलाली यातायात प्रा.लिको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धनगढी–अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा रहेका छाडा चौपयामा रिफ्लेक्टिव वेल्ट लगाइएको ट्राफिक कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराले जानकारी दिए । रातिको समयमा दुर्घटना बाट जोगिन उक्त अभियान चलाइएको उनले बताए ।
अन्य स्थानको तुलनामा पुर्व पश्चिम राजमार्ग सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको प्रहरीले जनाएको छ । रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेकोे छ ।