अत्तरिया ९ साउन । क्षमता भन्दा चार गुणा बढी कैदी बन्दी राखिँदा जिल्ला कारागार कञ्चनपुरको बेहाल भएको छ । ९५ जनाको क्षमता रहेको उक्त कारागारमा अहिले चार सय ११ जना कारागार जीवन बिताइरहेका छन् । तर वर्षातको समय सँगै कैदी व्यवस्थापनमा समस्या भएको कारागारले जनाएको हो ।
हाल ८ कोठामा कोचिएर बस्नुपर्ने अवस्था छ कारागारका मूल नाइके टेकराज जोशीले भने,–‘ शौचालयमा दिसा पिसाब गर्नसमेत समस्या हुने गरेको छ ।᾽ चार सय ११ जनाका लागि ६ शौचालय मात्रै हुँदा बिहानदेखि दिउँसो १२ बजेसम्म दिसा पिसाबका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको उनले बताए। एउटै कोठामा धेरै जना बस्ने भएकाले हलचल गर्न र श्वास फेर्नसमेत कठिन हुने गरेको उनी बताउँछन् ।

‘त्रिपालको मुनी, ग्यालरीमा रात कटाउने गरेका छौँ, जोशीले भने,–‘केही कैदी रात भरी सुत्न पाउँदैनन्।᾽ यो बर्सातको समयमा दैनिक १५–२० कैदी रातभरि जाग्ने गरेका उनी बताउँछन् ।

अहिले कारागारमा २३ जना महिला र ३ सय ८८ जना पुरुष रहेका छन् । उनीहरूलाई त्रिपालको मुनी राख्नु परेको कारागार कञ्चनपुरकी जेलर माया कुमारी बस्नेत थापाले बताइन् । सरकारले कारागारको क्षमता बिस्तार नगर्नू र कुनै निकाय बाट पनि सहयोग नपाउँदा समस्या भएको उनी बताउँछिन् ।

यता प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कारागारको समस्या समाधानका लागी कारागार व्यवस्थापन विभागमा जानकारी गराएको बताएका छन् । कारागारको अवस्था दयनीय भएपनी तत्कालै समस्या समाधान नहुने देखिएको हो ।

सिडिओ पाण्डेले भने,–‘‘ केही दिन अघि कारागारको निरीक्षण गरेका थियौँ, अवस्था दयनीय थियो, समस्या समाधानका लागी विभागमा पत्राचार गरेका छौँ ।’’ सिडिओ पाण्डेले कारागारमा कैदीको व्यवस्थापनका लागी त्रिपाल देखी आवश्यक सामाग्री राख्न निर्देशन दिइएको जनाए ।

प्रतिक्रिया दिनुस