महेन्द्रनगर १८ साउन । पछिल्लो चार दिन यता कर्णाली नदीमा ५ जना बेपत्ता भएका छन् । कैलालीका तीन र डडेल्धुरा घर भई डोटी बस्दै आएका दुई जना कर्णालीमा बेपत्ता भएका हुन् । शुक्रबार कैलालीमा भएको जीप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला परेका छैनन् । एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो । जीपमा सबार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकास जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको र खोजी जारी रहेको बताए । यस्तै आइतबार कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु र थप तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो । कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै दिउँसो १२ बजेतिर नदीमा डुंगा पल्टिँदा थप ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य चार जना भने पौडिएर जोगिएका छन् । उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन् । नदीको बहाव उच्च भएकाले खोजी कार्यमा केहि कठिनाई भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस