बैतडी १८ साउन । लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ झौलेकमा सडक भाँसिदा अवरुद्ध भएको हो । सडक भासिँएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
आइतबार बेलुकादेखि आंसिक रुपमा बन्द रहेको राजमार्ग सोमबार बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ । भासिँएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाको भनाई छ ।उनले भने,‘पर्खाल लगाउने काम सम्पन्न हुन दुई तीन दिन लाग्ने देखिएको छ,त्यसपछि मात्रै राजमार्ग सञ्चालनमा आउँछ ।’ राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर,डडेल्धुरा,बैतडीलगायतका स्थानका लागि छुटेका १ सय बढी सवारी साधन ठप्प रहेका छन् । सवारी साधन ठप्प हुँदा यात्रुहरु पनि अलपत्र परेका छन् । वर्षातको समयमा पहिरोका कारणले जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।