कञ्चनपुर,२१ साउन । एउटै नगरपालिकामा एकै खेलको मात्रै एक सय भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी छन् भन्दा पत्यार नलाग्न सक्छ। पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका कबड्डी खेलाडी बसोबास गर्ने नगरमा प्रसिद्ध भएको छ । वि.सं २०४० का दशकमा मुलुककै कबड्डी खेलाडीले प्रख्यात जिल्ला अझै राष्ट्रियस्तरमा खेलाडी जन्माउने जिल्लाका रूपमा परिचित छ । जिल्ला खेलकुद विकास समितिका प्रशिक्षणमा उत्पादन भएका धेरै खेलाडी अहिले नेपाली सेना तथा नेपाल प्रहरीको विभागीय टिमबाट खेल यात्रामा सक्रिय छन्। ‘भीमदत्त नगरपालिकाको मात्रै कुरो गर्दा पनि विभागीय टिममा ५० प्रतिशत खेलाडी सहभागी छन् ।’ कबड्डीका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले भने,‘कबड्डीका हकमा विगत र वर्तमानमा पनि भीमदत्त हब नै हो ।’

उनले भीमदत्त–६, ७, ८ र १० खेलाडी अत्यधिक रहेको बताए । ‘यहाँबाट मात्रै अहिलेसम्म ३६ महिला तथा पुरूष खेलाडीले साफ, एसियन र ६० भन्दा बढीले राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्,’ उनले भने,‘दशकौंअघि पनि त्यो बेला महाकालीको कबड्डी टिम खेल क्षेत्रमै अब्बल थियो ।’ खेलाडी उत्पादन मात्रै होइन, नेपाली कबड्डीको नेतृत्व गर्ने जिम्मेवारी पनि कञ्चनपुर घर भएका प्रशिक्षकले पाउँदै आएका छन् । केही समयअघि मात्रै भीमदत्त घर भएका प्रशिक्षक भट्टले कबड्डीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । ‘यति ठूलो जिम्मेवारी मेरा लागि अवसर र चुनौतीका रूपमा लिएको छु ।’

अढाइ दशकयता प्रशिक्षणमा सक्रिय उनले भने, ‘कोरोना कहरले खेल क्षेत्र र खेलाडी पनि नराम्ररी प्रभावित बने।’आफू खेलाडी हुँदा मुख्य प्रशिक्षक भट्टले एघार अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गरिसकेका छन् । विसं २०४२ मा कबड्डीमा प्रवेश गरेका हल्दुखालका भट्ट विसं २०६० को दशकयता यहाँ प्रशिक्षकको रूपमा कार्यरत रहे।प्रशिक्षकको सङ्ख्या नै न्यून रहेको जनाउँदै उनले सन् २०२२ मा हुने एशियाली खेलकुद प्रतियोगितामा महिला राष्ट्रिय टिम सहभागी हुने सम्भावना रहेको बताए।सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँ आधुनिक कवड्डी प्रशिक्षण केन्द्रसमेत निर्माण भएको छ ।

यसअघि मुलुकको कवड्डी खेलको नेतृत्व भीमदत्त कै वरिष्ठ कवड्डी प्रशिक्षक तारासिंह भाटले सम्हालेका थिए।मुख्य प्रशिक्षकबाट सेवा निवृत्त भएका मुख्य प्रशिक्षक उनले अझै पनि सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वर भूमि भए पनि राज्यको ध्यान नपुगेको बताउँछन् । ‘प्रतियोगिता हुँदा मात्रै थोरै समय बन्द प्रशिक्षण गराएर राम्रो नतिजाको आश गर्ने प्रवृत्ति भयो’, उनले भने, ‘राम्रो नतिजाका लागि दीर्घकालीन योजना बनाएर खेलाडी उत्पादनमा जोड दिनु आवश्यक छ ।’ विसं २०५५ मा पहिलो पटक मुख्य प्रशिक्षक बनेका भाट दोस्रो पटक पनि २०७३ सालमा सो भूमिकामा आएका थिए।‘कबड्डीबाहेक अरू खेलले यहाँबाट अझैसम्म मुख्य प्रशिक्षक पाएको छैन’, उनले भने,‘तर कबड्डीको नेतृत्व भने कञ्चनपुर वरिपरि नै छ ।’

कबड्डीका अन्तर्राष्ट्रिय निर्णायक रमेशचन्द्र ओझाले खेलाडीको रोजगारीको सुनिश्चितता नहुँदा पलायन हुनुपर्ने स्थिति रहेको बताए । ‘यहाँबाट चल्तीका पुराना खेलाडी अहिले भारतमा मजदूरी गर्नेदेखि व्यवसायमा लाग्नुपर्ने स्थिति छ’, उनले भने,‘खेलाडीले राज्यका लागि मेहनत गर्ने तर राज्यले वास्ता नगरेसम्म खेलकुदको विकास हुनसक्दैन ।’ उनले राष्ट्रियस्तरमा प्रतियोगितामा अहिलेसम्म सुदूरपश्चिम प्रदेशले पदकविहीन हुने अवस्था नआएको जानकारी दिए ।

प्रतिक्रिया दिनुस