बैतडीको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरीको आरोपमा पक्राउ परेका सातजनामध्ये दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अन्सार दोगडाकेदार–१ रिमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको हो। जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले धनबहादुर र केशवरामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। उनीहरु मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यका मुख्य अभियोगी भएको बताइएको छ।

चोरिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुनचाँदी व्यवसायी कञ्चन पौडेल र गणेश पौडेल‚ दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटी रिहा भएका छन्। उनीहरु जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हु्न्। यस्तै‚ चोरी प्रकरण पक्राउ परेका दोगडाकेदार–१ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ।

लटिनाथ मन्दिरमा गत मंसिरमा सुन चोरी भएको भए पनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए। मन्दिरको सुन चोरिएको बिषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी दिएको थियो। उजुरीपछि प्रहरीले पौने चार तोला सुनसहित सातजनालाई नियन्त्रणमा लिइएको थियो। तर‚ मन्दिरबाट नौ तोला सुन चोरी भएको खुल्नमा आएको छ।

प्रतिक्रिया दिनुस