फाइल।

महेन्द्रनगर–सुदूरपश्चिमका विद्यालयहरूले अस्वाभाविक नम्बर दिएको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसईई० को परीक्षाफल प्रकाशन गरेकोमा विद्यालयले अस्वाभाविक नम्बर दिएको पाइएको हो। विशेषगरी कैलाली र कञ्चनपुरका सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई ४ जीपीए दिएको पाइएको छ।

विद्यालयले शिक्षा इकाइमा र इकाइले बोर्डमा प्राप्तांक पठाउँदा नम्बर बढाएर दिएको भेटिएको छ। शिक्षा विकास तथा समन्वय इकाई कैलालीका शाखा अधिकृत प्रताप धामीका अनुसार विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न राष्ट्रिय परीक्षा बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन नसकेको हो। ‘बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित ‘एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो,’ उनले भने, ‘कार्यविधिअनुसार विद्यालयले कारण खुलाउँदा विद्यालयले नै दिएको प्राप्तांक सदर भएको हो।’

विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था थियो। यता शिक्षा निर्देशनालय दीपायलका निर्देशक गणेशबहादुर सिंहले विद्यालयले पठाएको अंक अस्वाभाविक भएपनि बोर्डले घटनाउने सक्ने व्यवस्था नरहेको हुँदा समस्या भएको बताए।

‘सर्वाधिकार विद्यालयलाई नै छ। शिक्षा विकास तथा समन्वय इकाइले केही सुधार गर्न सक्थ्यो, तर त्यसमा पनि विद्यालयले कारण खुलाइदिए केही गर्न सकिदैन्। त्यसैले विद्यालयहरूले पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ,’ उनले भने।
अस्वाभाविक नम्बर दिएको भेटिएपछि कतिपय शिक्षा विकास इकाइले यसपटक नतिजा संशोधन गर्न विद्यालयमै फिर्ता पनि पठाएका थिए। त्यो गर्दा पनि समग्र नतिजा अप्रत्याशित आएको हो। बोर्डले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको हो।

प्रतिक्रिया दिनुस