महेन्द्रनगर– गत शुक्रबार दार्चुला स्थित महाकाली नदीमा तुईन तर्ने क्रममा भारतीय सीमा सुुरक्षा बलले तुईनको डोरी काटिदिएपछि नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर गरिएको छ । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिमले शनिबारदेखि कञ्चनपुरको भीमदत्त नगरमा तुईन प्रकरणमा महाकाली नदीमा वेपत्ता भएका धामीको न्यायका लागि हस्ताक्षर संकलन अभियान शुरु गरेको हो ।

मौलिक जरोकिलो पार्टी सुदूरपश्चिमका अध्यक्ष खेमराज जोशीले भारतीय एसएसबीले संकटमा परेका सीमावर्ती नागरिकको उद्दारको साटो निहत्था नेपाली नागरिकमाथि दुस्मनको जस्तो व्यवहार गरेर तुईन तरिरहेकै अवस्थामा डोरी काटेर अमानविय कार्यरताको भत्र्सना गर्दै पीडित परिवारको न्यायका लागि हस्तक्षर अभियान संलकन गरिएको बताए । उनका अनुसार केही दिन हस्ताक्षर संकलन गरेर वेपत्ता पारिएको धामीको परिवारलाई न्यायका लागि सरकारलाई बुझाईने छ ।

वेपत्ता भएका जयसिहको शव खोज्नुपर्ने, सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितिले सत्यतथ्य छानबिन गर्नुपर्ने, दोषि एसएसबीमाथि कार्बाही गर्नुपर्ने, पीडित परिवारलाई राहत क्षतिपूर्ति धामीको सन्तानको शिक्षादिक्षा सरकारले जिम्मा लिनुपर्ने, उक्त समस्या सदाका लागि हटाउन नेपाली भूमि भएरै सडक विस्तार गर्नुपर्ने जस्ता माग अघि सारिएका छन । दार्चुला तुईन घटनाको छानबिन समितिले अध्ययन गरेकै बेला मौलिक जरोकिलो पार्टीले कञ्चनपुरमा हस्ताक्षर अभियान संकलन गरेको हो ।

प्रतिक्रिया दिनुस