नेकपा (क्रान्तिकारी माओवादी )पार्टीको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । साउन २८ गरे देखि काठमाडौँमा बसेको केन्द्रिय समितिको बैठकले नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद मान्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी संगठन बिच एकता गर्नका लागि आव्हान गरेको
(क्रान्तिकारी माओवादी) ले क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको तर आत्मगत परिस्थिति भने कमजोर रहेको स्थितिमा छिरलिएका सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध तुल्याउनका लागि माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारा मान्ने र नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद अङ्गीकार गर्ने क्रान्तिकारी कम्युनिस्ट सङ्गठन, समूह एवम् व्यक्तित्वहरुलाई संवादको प्रक्रियामा अगाडि बढ्न हार्दिक आह्वान गरेकाे छ । क्रान्तिकारी माओवादीकाे हालै सम्पन्न बैठकले यस्ताे आव्हान गरेकाे हाे ।
यही २०७८ साल साउन २८ गतेदेखि ३१ गतेसम्म पार्टी महासचिव किरणको अध्यक्षतामा बसेकाे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठकले महङ्गी, चरम बेरोजगारी, अभाव तथा गरिबी, भ्रष्टाचार, कमिशनतन्त्र, देशी तथा विदेशी प्रतिक्रियावादीको शोषण, उत्पीडन तथा हस्तक्षेप आदिका कारण मजदुर, किसान तथा निम्न पुँजीपति वर्गसहित आम जनताका आजीविकाका समस्या अत्यन्तै भयावह र विकराल बन्दै गएको कुरा औंल्याउँदै ओली सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा पुरै उदाङ्गो बन्न गएको र शेरबहादुर देउवा पनि यही सङ्कटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि हुनाले वर्तमान गठबन्धन सरकारबाट पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या हल हुन नसक्ने कुराको ठोकुवा गरेकाे छ ।
बैठकले मजदुरहरुमाथि थोपरिएको ठेकेदारी तथा करार प्रथाको खारेजी, समुचित तलव तथा अन्य सुविधा, निष्काशनको विरोध, स्वदेशमै रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था; क्रान्तिकारी भूमिसुधार तथा सुकुम्वासी, हलिया, कमैयाहरुका लागि जमिनको व्यवस्था; महिला, दलित, मुस्लिम तथा अपाङ्गका लागि विशेषाधिकारको व्यवस्था; सहिद परिवार, बेपत्ता तथा घाइते अपाङ्ग योद्धा एवम् बहिर्गमित सेनाका मागहरुको सम्बोधन; शिक्षा तथा स्वास्थ्य क्षेत्रको राष्ट्रियकरण; किसानहरुलाई समुचित अनुदान तथा कृषि औजार एवम् मल–बीउ आदिको व्यवस्था; महिला बलात्कार तथा हत्याको विरोध; दलितहरु प्रतिको छुवाछुत प्रथाको अन्त्य; भ्रष्टाचार, कमिशनतन्त्र तथा महङ्गीको विरोध आदि विषयलाई लिई सङ्घर्षको विकासका जाेड दिएकाे छ ।
केन्द्रीय समितिको बैठकले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको सम्पूर्ण भूभाग फिर्ता, एमसीसीको विरोध, दार्चुला तुइन काण्डको विरोध लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई लिएर सङ्घर्षको विकास गर्न जोड दिइएको छ ।
क्रान्तिकारी माओवादीले पहिल्यैदेखि उठाउँदै आएको पहिचान सहितको सङ्घीयता र स्वायत्त शासनको मागलाई लत्याएर भूगोलका आधारमा सङ्घीय संरचना निर्माण गर्ने वर्तमान प्रतिक्रियावादी व्यवस्थाले गरेको अन्यायपूर्ण निर्णयको विरोध गर्दै पार्टीले उक्त मागलाई पुन: सशक्त रुपमा उठाउने र नेपालमा पहिचान सहितको सङ्घीय संरचनाको स्वरुपबारे गहन अध्ययन गरी त्यसको खाका छिटै प्रस्तुत गर्ने समेत निर्णय गरेकाे छ ।
बैठकले गरेका महत्वपुर्ण निर्णयहरु पार्टी महासचिव किरणले एक वक्तव्य मार्फत् मंगलबार (आजै) सार्वजनिक गर्नु भएकाे छ ।