नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्ने नयाँ पार्टीको नाम र चुनाव चिन्हबारे नेपालनिकट नेताहरुले छलफल सुरु गरेका छन् । स्रोतका अनुसार राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि निर्वाचन आयोगमा दर्ता गरिने नेपाल समूहको पार्टीको नाम तय भइसकेको छ ।

नेपाल निकट नेताहरुले पार्टीको नेकपा एमाले (समाजवादी) राख्ने तयारी गरेका छन् । तर, यो नै नेपाल समूहको पार्टीको नामको अन्तिम विकल्प होइन । योसँगै नेपाल समूहका नेताहरुले पार्टीका अरु नाममाथिका विकल्पबारे पनि छलफल गरेका छन् । छलफलमा आएअनुसार नेकपा समाजवादी, नेकपा एमाले (क्रान्तिकारी), नेकपा क्रान्तिकारी पनि यो नयाँ दलका विकल्पहरु हुन सक्ने बताइएको छ ।

पार्टीको चुनाव चिन्हबारे पनि छलफल सुरु गरिएको तर के राख्ने भन्नेबारे अहिलेसम्म टुंगोमा नपुगिएको ती नेताले जानकारी दिएका छन् ।

मंगलबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नेपाल समूह निर्वाचन आयोग जाने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुस