कैलालीबाट विजयी भएर निलम्बनमा परेका सांसद रेशम चौधरी गृह जिल्लामा एक्लिएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएसँगै चौधरी एक्लिएका हुन्। उनको गृह जिल्ला कैलालीका अधिकांश नेता तथा कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको जसपामै छन् भने चौधरीको मन्जुरीनामा पत्र महन्त ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको छ।

आयोगले जसपाको आधिकारिकता टुंग्याउन सनाखत गर्दा तटस्थ बसेका उनी ठाकुर पक्षमा लागेसँगै गृह जिल्लामा भने चौधरी एक्लिएका हुन्। सुदूरपश्चिम प्रदेश सभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानाले संस्थापन पक्षलाई नै रोजेको बताएका छन्। ‘रेशम चौधरी जसपाको आधिकारिकता टुंग्याउन सनाखत गर्दा आफू तटस्थ बसे र हामीलाई पनि तटस्थ बस्न सुझाव दिएका थिए। तर, हामीले आधिकारिक पार्टीतर्फ जाने बताएका थियौँ,’ रानाले भनिन्।

त्यस्तै, जसपाका अधिकांश केन्द्रीय सदस्य संस्थापन पक्षतिर लागेका छन्। जसपा केन्द्रीय सदस्य तथा प्रदेश संयोजक कृष्णकुमार चौधरीले सुदूरपश्चिममा रहेका ३० जना केन्द्रीय सदस्यमध्ये अधिकांश आफूतिर रहेको बताए।

प्रतिक्रिया दिनुस