बैतडी । बैतडीमा जंगली जनावरबाट बाली जोगाउन किसान खेतमै रात दिन जाग्राम बस्न थालेका छन् । बँदेल, बाँदर र दुम्सीले मकैबाली‚ फलफूल, तरकारीमा क्षति पुर्‍याउन थालेको छ।  दिउँसो बाँदर र राति दुम्सी तथा बँदेलले मकै नष्ट गर्न थालेपछि जोगाउन धौधौ परेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए। यस क्षेत्रको मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली जंगली जनावर नष्ट गर्न थालेको छ। ‘पाक्नै लागेको मकै बँदेलले खान थालेपछि रात दिन जाग्राम बस्नु परेको छ’‚ विष्टले भने, ‘जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नु परेको छ। रातको निद्रा छैन, दिनमा भोक।’

मकैमा घोगा लागेदेखि नै जंगली जनावरले मकै नष्ट गर्न थालेको किसानहरु बताउँछन्। रात दिन पहरा दिए पनि मकै जोगाउन मुस्किल भएको किसान जयसिंह नाथले बताए। टहरा बनाएर राति पहरा दिए पनि बाली जोगाउन नसकिएको नाथको भनाइ छ। ‘रातभरि खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौं‚’ उनले भने, ‘आफूहरुले हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौं।’

वीरेन्द्र धामीका अनुसार बादँरले मकै बाली‚ आँप, अनारलगायतका फलफूल पनि नष्ट गरेको छ। उनले बादँर नियन्त्रणको लागि स्थानीय सरकारले पहल गर्नुपर्ने माग गरे। पाटन नगरपालिका–५ का किसानको मकै बँदेलले नष्ट गरिदिएको हिरा पाण्डेले बताइन्। बालीनाली जंगली जनावारले नष्ट गर्न थालेपछि भोकमरीमा पर्ने सम्भावना बढेको उनको भनाइ छ।

जंगली जनावरले प्रत्येक वर्ष बालीनालीमा क्षति गर्दै आए पनि क्षतिपूर्ती पाउन नसकेको किसानहरुको दुखेसो छ। स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन्। स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको किसान वीरबहादुर टेरले बताए। जंगल नष्ट हुँदा खानेकुराको अभावमा जंगली जनावर खेतबारीमा पस्ने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। बैतडीमा १४ हजार ९०० हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ।

प्रतिक्रिया दिनुस