अछाम । अछामका जीप व्यवसायीले ग्रामीण सडकमा मनपरी रूपमा भाडा असुल्न थालेका छन्। जिल्लाका विभिन्न ग्रामीण सडकमा यात्रुहरूबाट मनपरी भाडा असुल्न थालेका हुन्। जीप व्यवसायीले जिल्लाको जयगढदेखी मुजा बगरसम्म यात्रा गरे बापत यात्रुबाट १ हजार रुपैयाँ असुल्ने गरेका यात्रुहरूको गुनासो छ। विगतमा जयगढदेखी मुजा बगरसम्मको भाडा ३ सय रुपैयाँ लिँदै आएका जीप व्यवसायीले वर्षाको बहाना देखाउँदै साविकभन्दा तेब्बर बढी भाडा असुल्न थालेका हुन्।

उपचारका लागि अस्पताल आउनेहरू र अन्य दैनिक कामका लागि आवतजावत गर्ने यात्रुसँग मनपरी भाडा असुल्ने गरेको स्थानीय मदन साउँदले गुनासो गरे। जिल्ला प्रशासन कार्यालय अछामले कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यान दिँदै जीपमा पनि सामाजिक दूरी कायम गर्दै सीमित मात्रामा यात्रु बोक्न पाउने व्यवस्था गरेको छ। तर जीप व्यवसायीले प्रशासनको नियमलाई समेत उल्लङ्घन गर्दै मनोमानी रूपमा यात्रु ओसार्दै आएका छन्। यात्रुहरूबाट मनपरी भाडा असुल्दै आएका जीप व्यवसायी तथा काउन्टरका प्रतिनिधिले भने यात्रुहरूलाई भाडा बापतको टिकट उपलब्ध गराउँदैनन्।

यता अछामका प्रमुख जिल्ला अधिकारी रुद्ध बहादुर मल्लले सवारी भाडा वृद्धि गरिएको विषयमा आफूहरु सजग रहेको दाबी गरेका छन्।
यातायात व्यवसायीले यात्रुहरूबाट चर्को भाडा असुल्ने गरेको गुनासोका आधारमा सरोकारवालासँग छलफल गरी नयाँ भाडा दर कायम गर्न जिल्ला प्रशासन कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको सिडिओ मल्लले बताए।

प्रतिक्रिया दिनुस