संसदको राज्यव्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकले महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । साथै बैठकले पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण पनि सहभागी थिए । उनले छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको र सार्वजनिक गर्न २र४ दिन लाग्ने खबर पाएको बताएका थिए ।

गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय प्रहरीले तुइन काटिदिँदा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको थियो । गत साउन १७ गते गठित छानबिन समितिले साउन २७गतेसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने भएपनि समितिले अझै काम सकेको छैन । सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी भट्ट रहेका छन् ।

प्रतिक्रिया दिनुस