मोहन चन्द बैतडी भाद्र १२ । बैतडीमा रहेका स्थानिय तहमा सबै भन्दा बढी  रकम बेरूजु आउनेमा डिलाशैनी गाउँपालिका देखिएको छ। महालेखाको ५८ औं वार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानिय तहमा सबै भन्दा बढी बेरुजु डिलासैनी गाउँपालिका र सबै भन्दा कम बेरुजु पाटन नगरपालिकाको रहेको छ ।
डिलासैनी गाउँपालिकाको ८६ करोड ४१ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २० लाख २२ हजार बेरुजु रहेको छ । यो लेखा परीक्षण गरिएको ६ दशमलव २ प्रतिशत बेरुजु हो ।
यस्तै कम बेरुजु देखिने पाटन नगरपालिकाको १ अर्ब २० करोड ३८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ७२ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेको छ । यो लेखा परीक्षण गरेको रकमको १ दशमलव ४३ प्रतिशत हो ।
त्यस्तै गाउँपालिकामा सबै भन्दा कम बेरुजु हुनेमा दोगडाकेदार गाउँपालिका रहेको छ भने नगरपालिकामा सबैभन्दा बढी बेरुजु हुनेमा दसरथचन्द नगरपालिका रहेको छ । दोगडाकेदार गाउँपालिकाको २ दशमलव २ प्रतिशत र दशरथचन्द नगरपालिकाको ३ दशमलव २३ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दोगडाकेदार गाउँपालिकामा १ अर्ब  २ करोड ७१ लाख ३२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड २७ लाख ७९ हजार बेरुजु देखिएको छ । दशरथचन्द नगरपालिकाको १ अर्ब ४० करोड ८१ लाख ४३ हजारको लेखा परीक्षण गर्दा ४ करोड ५५ लाख १ हजार बेरुजु भेट्टिएको हो ।
सिगास गाउँपालिकामा ३ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ । ८७ करोड ९९ लाख १५ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४२ लाख ५८ हजार बेरुजु देखिएको छ ।
यस्तै शिवनाथ गाउँपालिकामा पनि ५९ करोड ८८ लाख ५८ हजारको लेखापरीक्षण गरिएकोमा ४ दशमलव ८४ प्रतिशत अर्थात २ करोड ९० लाख १२ हजार बेरुजु देखिएको छ । पञ्चेश्वर गाउँपालिकाको पनि ४ दशमलव ५१ प्रतिशत अर्थात ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ बेरुजु फेला परेको छ ।
सुर्नया गाउँपालिकाको ३ करोड ९८ लाख २६ हजार, पुर्चौडी नगरपालिकाको ३ करोड ४६ लाख ७२ हजार, र मेलौली नगरपालिकाको १ करोड ७३ लाख ३५ हजार बेरुजु रहेको छ । बैतडीमा रहेका ४ नगरपालिका र ६ गाउँपालिकाको जम्मा बेरुजु ३२ करोड ६३ लाख ७ हजार रुपैयाँ देखिएको छ ।
प्रतिक्रिया दिनुस