पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा एक हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोभिड–१९ बाट थप १६ जनाको ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार जम्मा १४ हजार ६५० जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा पिसिआर विधिबाट एक हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ गरी देशभर दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ। यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा छन् भने दुई हजार ३२७ जना देशभरका विभिन्न ठाउँका संस्थागत आइसोलेसनमा बसेका छन्। अस्पतालमा उपचाररत संक्रमितको संख्या ५४४ रहेको छ। त्यसमध्ये १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुस