कञ्चनपुर : दोधराचाँदनी नगरपालिका–८ सुन्दरनगगरका २९ वर्षीय नण्रबहादुर बुढामाथी सीमावर्ती भारतीय बजार वनवासामा नशालु पदार्थ खुवाई लुटपाट भएको छ । कामको शिलशिलामा भारतको सिमलाबाट बसबाट घर फर्कने क्रममा उनलाई नशालु पदार्थ खुवाई लुटपाट गरिएको प्रहरीले बताएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार बुढाको साथमा रहेको १५ हजार भारतीय रुपैयाँ र एक थान मोबाइल सेट लुटिएको छ।
लुटपाटपछि वनवसा बजारमा अलपत्र रहेका उनलाई भारतीय सुरक्षाकर्मीले शुक्रवार राति उद्धार गरी सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको सशस्त्र प्रही सहायक निरीक्षक प्रेमसिंह ठगुन्नाको टोलीलाई बुझाएको छ। उद्धार गरिएका बुढालाई सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाएको छ। अर्ध बेहोश अवस्थामा रहेका बुढालाई तत्कालै प्रहरीले उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरेको छ। लुटपाट गर्ने समूहको सशस्त्र प्रहरीले भारतीय प्रहरीको समन्वय गरी खोजतलास गरिरहेको बताइएको छ।