बझाङ-नेपाल विद्युत् प्रधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएसँगै बझाङमा २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना निर्र्माण हुने भएको हो।
चार वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको छ। प्राधिकरणले महत्वाकांक्षी आयोजनाका रुपमा अघि सरेको उस आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्टीमा निर्माण हुने भएको हो। जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने जनाइएको छ।
आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडलमा निर्माणका लागि टेण्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहण लगायतका काम सुरु भइरहेको छ। अर्धजलाशययुक्त चैनपुर सेती जलविधुत् आयोजनाको १३ किलोमिटर लामो सुरुङमार्ग रहेको छ। चैनपुर सेती जलविद्युत् आयोजनाका प्रमुख अनिलभक्त श्रेष्ठका अनुसार अहिलेसम्मको अध्ययनअनुसार अन्य आयोजनाका तुलनामा यस आयोजना कम लागतमा उच्च प्रतिफल दिने आयोजना रहने छ।
सुक्खायाममा समेत दैनिक कम्तीमा ६ घण्टा २१० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रुपमा चैनपुर सेती जलविद्युत आयोजनालाई अगाडी बढाउन लागिएको उनको भनाइ छ। निर्माण सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको लागत अनुमान बंैक ब्याजबाहेक ३६ अर्ब ५४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाउँमा पातलो बस्ती भएका कारण पनि स्थानीयको २३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने समेत प्रमुख श्रेष्ठले बताए। ‘आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनीसहित स्थानीय र प्रदेश सरकारको समेत लगानी हुने गरी वित्तीय व्यवस्थापनको मोडालिटीमा छलफल भइरहेको छ,’ उनले भने, ‘आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर विद्युत विकास विभागमार्फत स्वीकृतिका लागि वन मन्त्रालयमा पठाइसकेको छ। एक डेढ वर्षअघि नै पहिलो चरणको भौगर्भिक अध्ययन सकेर अहिले दोस्रो चरणको भौगर्भिक अध्ययनको काम भइरहेको छ।’
आयोजनाको लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु भइसकेको छ। मुअब्जा निर्धारण नभएको जग्गा अधिग्रहण हुनेबारे जिल्ला प्रसासन कार्यालयले सूचना जारी गरसिकेको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए। ‘हामीले आयोजना बन्न लागेको क्षेत्रका बासिन्दालाई पत्र पठाएका छौं। स्थानीय सरोकारवाला निकायलाई सार्वजनिक सूचना जारी गरेर जानकारी गराइसकेका छौ। आयोजनाको बाँध क्षेत्रमा बस्ती नै छैन भने विद्युत् गृह क्षेत्रमा पनि एकदमै पातलो बस्ती छ।
त्यसैले स्थानीयको थोरै मात्र जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने छ,’ उनले भने, ‘आयोजनाको निर्माण सुरु भएसँगै हजारौं स्थानीयहरुले प्रत्यक्ष÷अप्रत्यक्षरूपमा रोजगारी पाउने छन्। आयोजनाका लागि चाहिने बाहिरी जनशक्तिको आवतजावत बढ्दा स्थानीय स्तरमा आयआर्जनका अवसरहरु पनि सिर्जना हुने देखिएको छ।’ आयोजना निमार्णका लागि टेण्डर डकुमेन्टसमेत तयार भइसकेको छ। ठेकेदार कम्पनीले नै विस्तृत इन्जिनयरिङ अध्ययन गरेर काम सुरु हुने भएको छ। प्राधिकरणले ८३५ मेगावाटको दूधकोसी जलाशययुक्त, १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र २१० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजना एक साथ अगाडि बढाउन लागेको छ। देशभर निमार्ण भएका जलविद्युत आयोजनाले स्थानीयको सहयोग नपाएको गुनासो गर्ने गरेका छन्।