नेपाली राष्ट्रिय फुटबल टोली छिमेकी भारतसँग १४औँ पटक अन्तर्राष्ट्रिय खेलमा पराजित भएको छ । आइतबार घरेलु मैदान दशरथ रंगशालामा भारतलाई २–१ को नतिजा सुम्पिँदा नेपालले १४औँ पटक हारको सामना गरेको हो । दशरथ रंगशालामा नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको छ ।

बिहीबारको पहिलो खेलमा नेपाल र भारतबीच १–१ गोलको बराबरी भएको थियो भने आइतबारको खेलमा २–१ ले पराजित भएको हो । भारतले अन्तर्राष्ट्रिय फुटबलमा नेपालमाथि आफ्नो दबदबा कायम राख्न सफल भयो । ५ सेप्टेम्बरकै दिन ६ वर्षअघि ९२०१३० नेपालले भारतलाई साफ च्याम्पियनसिपको समूह चरणमा २–१ ले स्तब्ध पारेको थियो । त्यसयता नेपालले भारतलाई हराएको छैन । नेपाल र भारतबीच पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९८५ को २० डिसेम्बरमा दक्षिण एसियाली खेलकुदमा भएको थियो । पहिलो खेलमै दुवै टोलीले बराबरी नतिजा निकालेका थिए । तथ्यांकअनुसार भारत र नेपालबीच २१ अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले भारतलाई दुईपटक मात्र हराएको छ । नेपालले भारतलाई पाँच खेल बराबरीमा रोकेको छ । आइतबार दशरथ रंगशालामा नेपालका चार खेलाडीले व्यक्तिगत रेकर्ड राखेका छन् ।

कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने रेकर्ड राखेका छन् । यसैगरी, वैकल्पिक गोलरक्षक विशाल श्रेष्ठ र राजन गुरुङले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । भारतविरुद्ध तेज तामाङले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए । पाँच हजार भन्दाबढी घरेलु् दर्शकसामु नेपालले भारतलाई पहिलो हाफमा दबाब राखेको थियो । यो अवधिमा नेपालमा मनीष डाँगी र तेज तामाङले सहज अवसर खेर फालेका थिए । भारतीय खेलाडीले भने मध्यान्तरअघि काउन्टर अट्याक्ट रणनीति बनाएका थिए । नेपालले भने मध्यान्तरपछि आफ्नो उत्कृष्ट प्रदर्शन दोहो¥याउन सकेन । नेपाली खेलाडीमा मुख्य गरी फिटनेसको कमी देखियो । तुलनात्मक रूपमा मध्यान्तरपछि भारत आफ्नो रणनीति परिवर्तन गर्दै आक्रामक शैलीमा प्रस्तुत भयो । यसको नतिजा खेलको ६२औँ मिनेटमै देखियो । भारतले पहिलो गोल ६२औँ मिनेटमै १–० को अग्रता लियो । दोस्रो हाफमै मैदानभित्र प्रवेश गरेका फाहरूख हाजी कासम चौधरीले डिबक्सभित्र अनमार्कमा रहेको फाइदा उठाउँदै सहजै गोल गरे ।

खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले लगभग मैदानको मध्यभागबाट उत्कृष्ट ड्रिब्लिङ गर्दै भारतलाई २–० को स्थितिमा ल्याए । भारतीय पोस्टमा नेपाली खेलाडी गोल गर्ने क्रममा थिए । त्यहीँ नै भारतले काउन्टर अट्याक्ट गर्‍यो । अन्तर्राष्ट्रिय खेलकै निकै अनुभवी खेलाडी क्षेत्रीले सुरुमा नेपाली डिफेन्डरलाई कटाए । त्यसपछि नेपाली गोलपोस्टमा गोलरक्षक चेम्जोङलाई सहजै बिट गर्दै गोल गरे । क्षेत्रीले गोल गरेको छैटौँ मिनेट ९८६०मै नेपालले २–१ को गोलअन्तर बनायो । तेजले डिबक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार गरेका थिए । उनले प्रहार गरेको बललाई भारतीय गोलरक्षकसमक्ष छेक्ने अवसर नै थिएन ।

गोलरक्षक विशाल र डिफेन्डर राजनको डेब्यु

लामो समयदेखि नेपाली टोलीका वैकल्पिक विशाल श्रेष्ठ बेन्चमै रहे । सन् २०१९ देखि टोलीमा रहे पनि डेब्युको अवसर नपाएका विशालले अन्ततः आइतबार कप्तान चेम्जोङलाई विस्थापित गरी राष्ट्रिय टोलीबाट डेब्यु गरे । खेलको ८६औँ मिनेटमा विशाल मैदानभित्र प्रवेश गरेका हुन् । सन् २०११ मै उनी नेपाली टोलीमा परेका थिए । त्यसवेला चेम्जोङ पहिलो रोजाइका गोलरक्षकका रूपमा रहँदा उनले डेब्यु अवसर पाएनन् । दुईपटक चोटका कारण विशाल टोलीबाट बाहिर नै रहे । गत वर्षको ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले पहिलोपटक उपाधि उचाल्दा विशालले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

२०७५ सालको लिगमा उनी उत्कृष्ट गोलरक्षक बनेका थिए । विशालले मनाङ र मच्छिन्द्रबाट ए डिभिजन लिग जितेका छन् । विशाल पछिल्लोपटक थ्री नेसन्स कपसँगै इराक र कुवेत भ्रमणको टोलीमा परेका थिएनन् । यसैगरी, डिफेन्डर राजन गुरुङले पनि भारतविरुद्ध डेब्यु गरेका छन् । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको ८६औँ मिनेटमा उनले मनीष डाँगीलाई विस्थापन गरी डेब्यु गरेका हुन् । एन्फा एकेडेमीका उत्पादन राजन घरेलु फुटबलमा नेपाल एपिएफ क्लबबाट खेल्छन् ।

प्रतिक्रिया दिनुस