महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन उत्रिएपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समान्तर कमिटी गठन गरेको थियो।
समान्तर कमिटीका सबै पदाधिकारी एकीकृत समाजवादीमा गएका छन्। एमालेका तत्कालीन जिल्ला अध्यक्ष तारालामा तामाङको अध्यक्षतामा समानान्तरण कमिटी गठन भएको थियो। एमालेका तत्कालीन जिल्ला सल्लाहकार सन्तोस नेपालीले अध्यक्ष तामाङ, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा र उपसचिव रबिन्द्र कुँवरसहितको समान्तरण कमिटी मंगलबार एकीकृत समाजवादीमा समाहित भएको बताए। उनले समाजवादीको बैठक भदौ २५ गते बोलाइएको जानकारी दिए।
तामाङ, थापा र महरा एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन्। तीन पदाधिकारीले छाडेपछि निर्वाचित एमालेको जिल्ला कमिटीमा सचिव सुरेन्द्र विष्ट मात्रै बचेका छन्।
एकीकृत समाजवादीमा सनाखत गरेका एमालेमा फर्किए
नेकपा ९एकिकृत समाजवादी०मा सनाखत गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका तीन जना जनप्रतिनिधि नेकपा एमालेमा फर्किएका छन्। वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष छत्र महरा र वडा नम्बर ३ का सदस्य जहरसिंह कुँवरले सनाखत फिर्ता लिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमालले बताए।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार ५१ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। सनाखत गर्नेमा ११ वडा अध्यक्षसहित ३९ जना वडा सदस्य रहेका छन्।