महेन्द्रनगर । कञ्चनपुरमा तिज विशेष कार्यक्रममा भएको सामूहिक झडपमा परी सात जना घाइते भएका छन् । शनिवार राती कृष्णपुर नगरपालिका–१ भेटघाट शिविरमा तीज कार्यक्रमका बिच भएको झडपमा ७ जना घाइते भएको प्रहरीले जनाएको हो । घाइते हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले बताए। टाउकोमा चोट लागेका उनीहरुलाई उपचारका लागि धनगढी लगिएको छ । यस्तै झडपमा कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएका छन्। उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए। घटनामा अन्य फरार रहेकाहरुको खोजी कार्य भइरहेको उनले बताए। झडप के कति कारणले भएको हो भन्ने बुझिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस