महेन्द्रनगर । सुदूरपश्चिमका झण्डै २ सय जना भारतमा बेपत्ता भएका छन् । रोजगारीको शिलसिलामा भारत गएका उनिहरु करिव ३० वर्ष पहिले देखी बेपत्ता रहेको तथ्यांक संकलन गरेको गैरसरकारी संस्था निड्स नेपालले जनाएको हो ।
कामका लागि भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्यांक संकलन गरेको गैरसरकारी संस्था निड्स नेपालका अनुसार कञ्चनपुरको महाकाली नगरपालिकाका ५४ जना, पुनर्वास नगरपालिकाका ३७ तथा डोटीको शिखर नगरपालिकाका एक सयजना भारतमा बेपत्ता छन् ।

रोजगारीका लागि भारत गएका स्याङ्जाका शोभकान्त लामिछाने ३५ वर्षपछि भदौ पहिलो साता भटिए । उक्त खबर सञ्चार माध्यममा पढ्दा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ की प्रियंका काफ्लेलाई पनि आशा जागेको छ । १३ वर्षअघि रोजगारीका लागि नयाँदिल्ली पुगेका बुवा शिवराज पनि फर्किन्छन् कि भन्ने आशा उनमा सञ्चार भएको छ। ‘बुवा २०६५ सालमा रोजगारीका लागि भारत जानुभएको थियो,’ उनले भनिन्, ‘अहिलेसम्म न फर्किनुभयो न सम्पर्कमै हुनुहुन्छ।’

प्रियंका ८ वर्षकी हुँदा उनका बुवा नयाँदिल्ली गएका थिए। धेरैपटक खोजी प्रयास गर्दा पनि बुवा नभेटिएको उनले बताइन्।
भारतमा काम गर्न गएका पुनर्वास नगरपालिका–५ का प्रताप विक पनि सम्पर्कमा नआएको ३० वर्ष भइसक्यो । रोजगारीका लागि भन्दै मुम्बईमा चौकीदारीको काम गर्न गएका विक अझै सम्पर्कमा आउन सकेका छैनन् । छोरी दुई वर्षकी थिइन्, त्यही बेला पैसा कमाउन भन्दै पति भारत जानुभएको थियो,’ लालीले भनिन्, ‘३० वर्ष बित्यो, आउनुभएको छैन, न त खबरै छ।’ पतिको अवस्था थाहा नहुँदा सरकारबाट पाउने सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको उनको गुनासो छ।

कामकै लागि भारत गएका डोटीको आदर्श गाउँपालिका–१, बाँझ गाउँका ३३ वर्षका दिलबहादुर खड्का पनि परिवारको सम्पर्कमा नआएको ६ वर्ष पुगेको छ । पति फर्केर आउने आशमा पत्नी प्रेमा खड्काका दिन बितिरहेका छन् । २०७२ सालमा पैसा कमाउन भन्दै दिलबहादुर बेंगलोर गएका थिए। पति ६ वर्षसम्म सम्पर्कमा नआएपछि धेरै ठाउँमा जोखना हेराएको बताउँदै उनले भनिन्, ‘पतिको अवस्थाबारे थाहा पाउन धेरै ठाउँमा जोखना हेराइसकेका छौं, जोखना हेर्ने सबैले आउँछन् भन्छन् ।’

हराएका पतिको खोजीका लागि प्रहरीसमक्ष भने नपुगेको उनी बताउँछिन्। ‘भारत गएका मान्छेलाई प्रहरीले के खोज्ला भनेर प्रहरीमा निवेदन दिएकी छैन,’ उनले भनिन्, ‘भारतमा हराएका मान्छेको खोजी सरकारले गरिदिनु पर्ने हो।’ डोटीको शिखर नगरपालिका–३, जोरागाउँकी ६० वर्षीया जोगेनी भुल घरमा नौलो मान्छे आउनेबित्तिकै छोराको तस्बिर देखाउँछिन् र भन्छिन्, ‘अब त छोरो नदेखेरै मर्ने भएँ।’ उनलाई थाहा छैन बेपत्ता छोरा चेत भुल जीवित छन् वा छैनन्। तैपनि मर्नुअघि एकपटक छोरालाई देख्ने उनको धोको छ। २५ वर्षअघि रोजगारीका लागि भारत पसेका जोगेनीका जेठा छोरा चेत घर फर्केका छैनन्।

चेत पनि पैसा कमाउन भन्दै मुम्बई गएका थिए। आमा जोगेनीका अनुसार छोरा चेतले मुम्बईमा चौकिदारीको काम गर्थे। सँगै गएका अरू घर फर्किए तर उनी फर्केका छैनन्। सम्पर्कमा नआएका चेतका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन दिएको छैन। भारतमा हराएका छोरालाई नेपाल प्रहरीले खोजिदेला भन्ने उनीहरूलाई लागेन। ‘धामीझाँक्रीले छोरो बाँचेकै छ, एकदिन आउँछ भन्छन्,’ आमा जोगेनीले भनिन्, ‘खै १ आउँछ, आउँदैन दैव जानुन्।’

 

प्रतिक्रिया दिनुस