कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरा जिल्लाको अधिवेशनका विषयमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल–शेखर कोइराला पक्षलाई बैठकमा डाकेका छन् । पार्टीभित्र चरम अलोकतान्त्रिक गतिविधि बढेको र सत्ताको दुरुपयोग गरेर सभापतिले आफ्नै जिल्लामा वडाअधिवेशन गराएको भन्दै पौडेल पक्षले कडा विरोध जनाएपछि देउवाले पौडेल–कोइराला समूहलाई बैठकमा डाकेका हुन् ।
“गत २४ गतेको बैठकमा सभापति देउवाले २५ गतेको वडा अधिवेृशन रोकेर केही दिनपछि गराउँछु भन्नुभएको थियो । तर, उहाँले अधिवेशन रोक्नुको साटो सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सुरक्षाफौज मगाएर अधिवेशन गराउनुभयो,” पौडेल–कोइराला समूहका एक नेताले भने, “हामीले निर्वाचन समितिसँग पनि गम्भीर विमति राखिसकेका छौँ, सभापति देउवासँग पनि त्यो विमति राख्नेछौँ ।”
ती नेताकाअनुसार शुक्रबार नै सभापति देउवाले बालुवाटार बोलाएर छलफल गर्दैछन् । यसअघिसम्म डडेलधुराको वडा अधिवेशनबाट मौन बसेका देउवाले विवाद उत्कर्षमा जाने संकेत देखेपछि पौडेल–कोइराला पक्षलाई बालुवाटारमै डाकेर छलफल गर्न लागेका हुन् । तर, पौडेल पक्ष २५ गते बिहानको बैठकमा देउवालाई प्रहरी प्रशासनको उपस्थिति अधिवेशनमा अस्वीकार्य भन्दै हिँडेपनि डडेलधुरामा वडा अधिवेशन गराएपछि मात्र पत्रकार सम्मेलन गरेर वडा अधिवेशन नै अस्वीकार गर्ने निर्णयमा पुगेका थियो । उसले त्यो निर्णयबारे जानकारी दिँदै बिहीबार निर्वाचन समितिको ध्यानाकर्षण गराएका थियो ।
नेपाली कांग्रेसको ५६ जिल्ला अधिवेशन सकिएको छ । ५७ औँ जिल्ला डडेलधुराको विवादले भने महाधिवेशनको पूरै तालिका नै प्रभावित बन्ने जोखिम बढेको छ । पौडेल पक्षले डडेलधुरामाजस्तै बाँकी जिल्लामा पनि संस्थापनले पेलेर अधिवशेन गराए त्यो अधिवेशन नभएर कब्जा हुने भन्दै अभिव्यक्ति दिइरहेकाले देउवा विश्वासको वातावरण निर्माणमा जुटेका हुन् । पहिलो चरणमै देउवा पहिलो, पौडेल दोस्रो र सिटौला तेस्रो भएका छन् । विधान अनुसार दुईभन्दा बढी उम्मेदवार भएको अवस्थामा सभापतिमा ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएपछि पहिलो भएका देउवा र दोस्रो भएका पौडेलबीच प्रतिस्पर्धा भयो । दोस्रो चरणमा सिटौलाले देउवालाई समर्थन गरे । उनले देउवाको काँध नथापेको भए पौडेल नै सभापति बन्न सक्थे । तर, व्यक्तिथत ‘इगो’का कारण उनीहरूबीच सहकार्य हुन सकेन । अन्तिममा निर्णायक बनेका सिटौलाले अहिले कांग्रेसको तेस्रो धारणका नेता बनेका छन् ।