सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादी तर्फका दुई जनालाई मन्त्रीमा नियुक्त गर्न अन्तीम तयारी थालेका छन् । एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङ र माया तामाङ बोहरालाई मन्त्रालयको जिम्मेवारी दिने अन्तिम गयारी गरिएको हो । तामाङलाई आर्थिक मामिला मन्त्रालय र बोहरालाई अर्थराज्य मन्त्री नियुक्त गर्ने तयारी गरेको एक प्रदेश सभा सदस्यले जानकारी दिए ।
शुक्रबार साँझ नै उनीहरूलाई पद तथा गोपनीयताको सपथ लिने तयारी रहेको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् । विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए ।
सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।