संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् भने राष्ट्रपति भण्डारीले ८ जनालाई आममाफी गरेकी हुन्। ‘असोज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राईसहित ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय माफी भएको छ।

संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा १ सय ५९ को प्रावधानअनुसार ८ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुस