नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारी आफैले कार्यालयमा ताला लगाएका छन्। सुदूरपश्चिमका विभिन्न क्षेत्रमा विगत तीन वर्षदेखि विद्युत मर्मतमा कार्यरत मजदुरले सोमबार कर्मचारीलाई भित्रै थुनेर ताला लगाएपछि मंगलबार प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीले भित्रबाट ताला लगाएर प्रवेश निषेध गरेका हुन् ।
सोमबार आगामी दुई वर्ष विद्युत मर्मतका लागि जिम्मेवारी पाएका नयाँ ठेकेदारले आफूहरुलाई निकालेको भन्दै मजदुरले तालाबन्दी गरेका थिए। नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले कार्यालयमा कार्यरत कर्मचारीले असुरक्षित महसुस गरेपछि भित्रबाट ताला लगाएको हुनसक्ने बताए।
‘म अहिले काठमाण्डौँमा छु, हिजो जुन प्रकारकाले तालाबन्दी गर्ने काम भयो त्यो कुनै पनि हालतमा सहि छैन’ उनले भने, ‘आगामी दुई वर्षका लागि नयाँ ठेकेदार कम्पनी छनोट गरिएको छ। नयाँ ठेकेदारले यसअघिका ठेकेदारले राखेका कर्मचारी राख्दैन भनेपछि त्यसमा प्राधिकरणको कुनै दोष हुँदैन।’कर्मचारीले असुरक्षित महसुस गरेपछि गेट र कार्यालयभित्र तालाबन्दी गरेर भित्र काम गरिरहेको बताइएको छ।