डोटी – वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटीको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा नागरिकलाई समस्या हुँदै आएको छ । गएको साउन, भदौ महिनामा परेको पानीका कारण यस सडक खण्डका विभिन्न ठाउँमा पहिरो आएर सडक बन्द भएको हो । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजानसमेत कठिन भएको जोरायल गाउँपालिका ५ का स्थानीयवासी डम्बरबहादुर विष्टले बताए ।

पहिरोले सडक बिग्रिएको दुई महिना भइसक्यो, खोल्नका लागि कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासमेत अस्पताल लैजान सक्ने अवस्था छैन’, उनले भने । बन्द भएको सडक खुलाउनका लागि स्थानीयवासीले पटक–पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालय दिपायलमा आग्रह गर्दासमेत कुनै पहल नभएको जोरायल गाउँपालिका ५ का प्रकाशबहादुर रावलले बताए ।

सडक नखुल्दा गाउँमा उत्पादन भएका साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको स्थानीयवासी लालबहादुर सार्कीले बताए । यसैगरी सडक बन्द भएपछि गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकासिएको उपभोक्ताहरूको गुनासो छ । गाउँमा गाडी नआउने र एक दिनको पैदल दुरीबाट सामान बोकेर ल्याउनुपरेका कारण दैनिक उपभोग्य वस्तु महँगिएको शिखर नगरपालिका १ नापानीका व्यापारी रामबहादुर बोगटीले बताए ।

यसैबीच हप्ता दिनभित्रमा यो सडक नखुलाए आन्दोलन गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । सडक बन्द हुँदा सदरमुकाम आउजाउ गर्न घण्टौँ टाढा पर्ने कैलालीको शिवनगर तथा डोटीको भीमदत्त राजमार्गको बाटो प्रयोग गर्न बाध्य भएको स्थानीयवासी ललित विष्टले जानकारी दिए । डिभिजन सडक कार्यालय दिपायलय कुल्पातेले दिपायल–नापानी हुँदै गड्सेरा जोड्ने सडक शिखर नगरपालिका मातहत भएका कारण त्यो सडक खोल्न नगरपालिकाले नै पहल गर्नुपर्ने बताएको छ । शिखर नगरपालिका १ का वडाध्यक्ष खडकबहादुर शाहीले वर्षाका कारण बिग्रिएको सडक खुलाउनका लागि डोजरको माग गरी अवश्यक पहल भइरहेको बताए ।

प्रतिक्रिया दिनुस