महेन्द्रनगर । मंदिर विकास समितिका पदाधिकारीले बिक्रि गरेका साढे ६ क्युन्टल घण्ट कञ्चनपुर प्रहरीले बरामद गरेको साता दिन पुगेको छ । महेन्द्रनगर स्थित सिद्धनाथ मंदिरमा भक्त जनहरुले चढाएका साढे ६ कुन्टल घण्ट गल्लिनम्बर १ स्थित ठकुराटी पसलबाट प्रहरीले बरामद गरेको थियो ।

सिद्धनाथ मंदिर विकास समितिले बिक्रि गरेका ति घण्टहरु प्रहरीले बरामद गरेपछि ठकुराठी ब्रदर्श तथा वर्तन स्टोरका सञ्चालक पदम ठकुराठी तरंगित बनेका छन् । उनले भने,–‘ साढे ६ लाख हालेर ति घण्ट खरिद गरेको हौ, खरिद गरिएको सप्रमाण सुरक्षीत छन्।’
तर प्रहरीले उक्त घण्ट किन बरामद गर्न खोज्यो अझै बुझ्न नसकिएको उनले जनाए । आफुले रकम तिरेर खरिद गरेका घण्ट सुरक्षीत फिर्ता पाउनुपर्ने उनले बताए ।

तर प्रहरीले भने उक्त घण्ट बरामद गरिसकेपछि आवश्यक छानविन भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवंम् प्रवक्ता सिद्धराज न्यौँपानेले उक्त घण्टहरुको विषयमा छानबिन चलिरहेकाले तत्काल कार्वाही अगाडी नबढाइएको जनाए ।
यता सद्धनाथ मंदिर विकास समितिले भने नगद साढे ३ लाखमा उक्त घण्ट बिक्रि गरिएको जनाएको छ । सिद्धनाथ मंदिर विकास समितिका सचिव पुस्करराज उप्रेतीले नगद तीन लाख ६६ हजारमा उक्त घण्ट भारतिय कवाडीलाई विक्रि गरेको जनाए

। समितीका अध्यक्ष हिक्मद सिह भण्डारीले ति घण्ट समितीले निर्णय गरेर बिक्रि गरिसकेकाले जहा भएपनि आफुहरुको सरोकारको विषय नभएको बताए । कालापानि खबर सँगको कुराकानिमा उनले भने,–‘पुराना खिया लागेका घण्ट गोदाममा थन्काइएका थिए, बिक्रि पछि नयाँ ठुला घण्ट खरिद गर्ने तयारी थालेका छौँ।’ बिक्रि गरेका ति घण्टसँग समितीको कुनै सरोकार नभएको अध्यक्ष भण्डारीले बताए । उनले भने,–‘प्रहरीले छानविन गरिरहेकैे छ, जे–जस्तो हुन्छ। ’

डिएसपी न्यौँपानेले भने  छानबिन भइरहेको बताए । यद्यपि उक्त घण्टको आवश्यक प्रमाण जुटाउन नसकिएकाले कसैमाथी कार्वाही अगाडी बढाउन नसकिएको उनले जनाए । उनले भने,–‘ पुराना घण्ट घोटेर नयाँ बेचिदै गरेको फेला पारेकाले कानून सम्मत तरिकाले अगाडी बढेका छौँ।’

प्रतिक्रिया दिनुस