महेन्द्रनगर । कञ्चनपुरमा मेयरका पिएले सुत्केरी भत्ता बुझेको महालेखाको प्रतिवदेनले देखाएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालका स्वकीय सचिव गणेश सिह ऐरले सुत्केरी भत्ता बुझेको पाइएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
करार कर्मचारीलाई सम्झौतामा तोकीए भन्दा बढी सेवा सुविधा लिएको देखीएको प्रतिवेदनले पुष्टि गरेको हो । सम्झौँता भन्दा बढी सेवा सुविधा दिन नमिल्ने भएपनि कृष्णपुर नगरपालिकाले भने मेयरका पिए ऐरलाई ५ हजार रुपैया सुत्केरी भत्ता दिइएको छ । महालेखाले मेयरका पिए ऐरबाट ५ हजार रुपैया असुल गर्न नगरपालिकालाई निर्देशन दिएको छ ।
यता कृष्णपुर नगरपालिकाले भने प्रक्रिया पु¥याएरै भत्ता वितरण गरिएको दावी गरेको छ । सूचना अधिकारी प्रेम बोगटीले प्रकृयागत त्रुटि नभएको जिकिर गरे । उनले भने,–‘ लेखाफाँटले सम्झौँता विपरीत भत्ता वितरण गरेको पनि देखीएकाले त्यसको असुलीमा आफुहरु लागेका छौँ।’
महालेखाको प्रतिवेदन अनुसार स्वकिय सचिव ऐरबाट उक्त रकम असुल गर्न चिठी काटिएको उनले जनाए ।