बैतडीको दशरथचन्द नगरपालिका— ५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले आज २ जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आज घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।
विजयका बुवा बीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका—५ का अशोक नाथ, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराएका थिए । किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरुको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको छ ।
युवा संघ नेपाल बैतडीका सदस्य समेत रहेका विजय गत भदौ १० गते साथीहरुसंग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्नेभिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । घाइते युववको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयीसँग भएकाहरुले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुवा बीरसिंह भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरि पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।