बझाङको थलारा गाउँपालिका–९ सिरेटामा सिस्नोको पाउडर बनाउने मेसिन जडान गरिएको छ । युयमएन र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित सिर्जना परियोजना अन्तर्गत सिर्जना परियोजनाले गठन गरेको नव प्रतिभा आयआर्जन कृषक समूहलाई सिस्नुको पाउडर उत्पादन गर्नको लागी ३५ हजार बराबरको मेसिन सहयोग गरेको हो ।

विपन्न तथा कोरोना महामारीको चपेटामा परेका स्थानीय तहहरूलाई रोजगार बनाउने उद्देश्यले उक्त मेसिन समूहलाई वितरण गरेको सिर्जना परियोजनाका कार्यक्रम संयोजक बल बहादुर ओडले बताउनुभयो । नव प्रतिभा आयआर्जन कृषक समूहले उत्पादन गरेको सिस्नु पाउडरले थलारामा पर्यटन विकास तथा आर्थिक क्षेत्रको स्तरोन्नतिमा सहयोग पुग्ने समूहका अध्यक्ष प्रयागराज जोशीले बताउनुभयो । ‘संस्थाले कल्पना पनि नगरेको कामको थालनी गरेर यहाँका विपन्न वर्गहरू एकल महिला, दलित महिला, जनजाति महिला लगायतका महिलाहरूको आर्थिक उन्नतिको बाटो सृजना गरेको जोशीको भनाई छ ।

समूहले मेसिनलाई लाभदायी र दिगोपन बनाउनमा ध्यान दिनु पर्ने र मेसिनलाई उपयुक्त ढङ्गले सञ्चालन गरे थलारा सिरेटाको सिस्नुको पाउडर अन्तर्राष्ट्रिय बजारमा समेत र्पुयाउन सकिने सिर्जना परियोजनाकी म्यानेजर इन्द्रा राईले बताए । सिस्नुको पाउडरको सेवन गर्नाले ग्यास्ट्रिक, गानुगोला, उच्च रक्तअल्पता, कम रक्तअल्पता, आँखाका रोग, शरीरमा एलर्जी हुनेजस्ता विभिन्न रोगीहरूको लागि लाभदायक मानिन्छ । त्यसै गरी थलारा गाउँपालिका–५ मा रहेको कोटभैरव साना किसान कृषि सहकारी संस्थालाई पनि युयमएन तथा प्रगतिशील युवा समाजले करिब १ लाख ५० हजार बराबरको भटमासको तेल बनाउने मेसिन हस्तान्तरण गरेको कोटभैरव साना किसान कृर्षि सहकारीका अध्यक्ष हर्क बहादुर विष्ट बताए ।

सहकारीमा हाल ५ सय १ जना सियर सदस्य रहेका छन् । थलारा गाउँपालिकामा लागू भएको प्रगतिशील युवा समाज र युयमएनको साझेदारीमा सञ्चालित सिर्जना परियोजना अन्तर्गत थलारा गाउँपालिकाका विभिन्न वडाहरूमा र कृर्षक समूहहरूमा मेसिन तथा कृर्षि उपज बस्तु बनाउन र वैदेशिक रोजगारीमा गएकाहरूलाई देशमै रोजगारी बनाउने उद्देश्यले आफूहरूले कार्यक्रम मार्फत समुदाय स्तरमा स्वरोजगार मूलक विभिन्न कार्यक्रम गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

प्रतिक्रिया दिनुस