महेन्द्रनगर । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन टोलीले दुई सयभन्दा बढीको बयान लिएको छ । महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै नपुर्र्याइ जग्गा बिक्री, वितरण र लिजमा दिएको उजुरीपछि भदौ तेस्रो साता कञ्चनपुर पुगेको आयोगको टोलीले बयान लिने काम सकेको हो ।

बयान लिने काम सकेर स्थलगत अनुसन्धान गर्न थालेको टोलीले जनाएको छ । छ सय ३८ बिघा जग्गा रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ । अख्तियार कार्यालय महेन्द्रनगरका प्रवक्ता हरीशचन्द्र जोशीका अनुसार जमिन लिजमा लिने र खरिद गर्नेदेखि समितिका तत्कालीन पदाधिकारी र कर्मचारीहरूको बयान लिएको हो।

लिजमा जमिन लिने १४४ र खरिद गर्ने ४६ जना गरी तत्कालीन पदाधिकारी र कर्मचारी सबैको बयान लिइएको हो। स्थापनाका बेला ६३८ बिघा जमिन रहेको समितिसँग अहिले ६६ बिघा मात्रै बाँकी छ। अनुसन्धान टोलीले समितिका कागजात र मालपोत कार्यालयबाट समेत आवश्यक कागजात मगाएर अध्ययन गरिरहेको छ।

प्रतिक्रिया दिनुस