नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनको अवसरमा आज बुधबार ६६औँ प्रहरी दिवस मनाइँदैछ । विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको मानिन्छ । २०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरियो । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष पुगेको हो । प्रहरी दिवस तीन दिनसम्म दिपावली गरेर मनाउने गरिन्छ । मंगलबारदेखि नै दिपावली तथा अन्य कार्यक्रम गरेर सुरु गरिएको छ । आज मुख्य दिन हो ।

किन मनाइन्छ ?

प्रहरी अधिकारीका अनुसार प्रहरी ऐन आएको दिन अर्थात औपचारिक रुपमा नेपाल प्रहरी गठन भएको दिनलाई प्रहरी दिवसका रुपमा मानिँदै आएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदी प्रहरी दिवसलाई संगठनले आफ्ना गतिविधिको बारेमा मूल्यांकन गर्ने, हरेक प्रहरी कमर्चारीले जुन उद्देश्य र कसम खाएर नेपाल प्रहरी प्रवेश गरेको थियो, देश र जनताको सेवा गर्न त्यो सेवा अझ विशिष्टिकृत सेवा गर्छौं भनेर कसम खाने दिनका रुपमा व्याख्या गर्छन् ।

‘अर्कोतर्फ विगतमा गरेका कामकारवाहीको समीक्षा गरेर भएका त्रुटिहरुलाई सच्याउने र राम्रा कामहरुलाई निरन्तरता दिने दिन पनि हो,’ उनी भन्छन् । डीआईजी सुवेदी नेपाल आमाका सपुतहरु, अमर प्रहरीलाई सम्झना गर्ने, सम्मान गर्ने, परिवारलाई सम्मान गर्ने, आफ्नो कर्तव्य पालनका सिलसिलामा घाइते भएका प्रहरी कर्मचारी पूर्वजहरु तथा वर्तमानहरुको सम्मान गर्ने, पूर्व प्रहरी अधिकृत र जवानहरुले विगतमा पुर्‍याएको योगदानको सम्मान गर्ने, उनीहरुले देखाएको सकारात्मक मार्ग निर्देशनमा अगाडि बढ्ने अठोट गर्ने पनि दिनका रुपमा व्याख्या गर्छन् ।

‘जनताको सेवा रशान्ति सुरक्षा हाम्रो धर्म हो । अपराध नियन्त्रण तोकिएको जिम्मेवारी छ । विभिन्न प्रकोपमा परेकालाई उद्धार गर्ने छ । यसमा अझ हामीले भरपर्दो सेवा गर्न सकौं भनेर कसम खाने पनि दिन हो,’ उनी अझै व्याख्या गर्दै भन्छन् । प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । ‘रक्तदान, सचेतना, सरसफाइ, वृक्षरोपणलगायत विभिन्न गरिरहेका छौं । यहीँ क्रममा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई सम्मानित गर्ने, कामको समीक्षा गर्ने हुन्छ । प्रधानमन्त्रीको उपस्थितिमा शहीद अमरप्रति सलामी, माल्यार्पणका काम हुन्छन्,’ सुवेदीले भने, ‘अमर प्रहरी परिवारलाई सम्मान प्रमाणपत्र तथा छात्रवृत्ति लगायत प्रदान गरिन्छ । यी विभिन्न गतिविधि गरेर मनाउँछौं ।’

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवर नेपालमा पहिलोपटक३१ असोज२०१२ मा प्रहरी कानुन लालमोहर लागेको सम्झनामा दिवस मनाउन थालिएको बताउँछन् । दिवसमा कर्तव्य गर्ने सिलसिलामा दुस्खद निधन भएका अमर प्रहरीप्रति श्रद्धान्जलि गर्ने, परिवारलाई सम्मान गर्ने कदर पत्र प्रदान गर्ने हुने उनी बताउँछन् । ‘अर्कोतिर प्रहरीले आफूले वर्षभरी गरेका कामको समीक्षा गर्छ । राम्रो के के भयो नराम्रो के के भयो रु भोलिका दिनमा कसरी सुध्रेर जाने, कसरी राम्रो गर्ने भन्ने समीक्षा गर्ने आत्मसमीक्षा गर्ने दिनका रुपमा लिइन्छ,’ उनले न्युज कारखानासँग भने,‘यो दिन प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाकासम्म यसलाई मनाइन्छ । तीन दिनसम्म दिपावली पनि गरिन्छ ।’

दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी अधिकृतलाई सम्बोधन गर्ने प्रवक्ता कुँवरले बताए । समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिने छ । उनकाअनुसार प्रधानमन्त्रीको हातबाट ३३ जना अमर प्रहरी परिवारलाई सम्मान गरिँदैछ । यो वर्ष विरगति प्राप्त गरेका प्रहरीहरुका परिवारलाई यो सम्मान प्रदान गर्न लागिएको हो । ‘विशेषत एउटा कानुन आएको खुसियाली र अर्को शहिदप्रति श्रद्धाञ्जली र सम्मान दुइटा मिठो र नमिठो कुरा मिसिएको हुन्छ । यसरी मनाइन्छ । प्रहरी ऐन आएको लागु भएको स्मरणमा मनाउन लागिएको हो,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुस