महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गरिने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक सधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री खड्काले युवाहरुलाई स्वदेशमै रोजगारीका लागी बिनाधितो पूँजीको व्यवस्था गरिने बताएका हुन् ।

‘सुदूरपश्चिमको सरकारले युवालाई स्वरोजगार बनाउन बिनाधितो न्यून ब्याजमा पूँजीको व्यवस्था गर्ने छ, यसमा मन्त्रीको रूपमा मैले पनि पहल गर्ने छु । युवालाई सीप सिकाउने व्यवसाय सञ्चालन गर्नका लागि पूँजीको व्यवस्था गर्ने कार्यसँगै बजार व्यवस्थापनको कार्यसमेत प्रदेश सरकारले गर्छ,’ मन्त्री खड्काले भने, ‘युवाहरू विदेशिने समस्यालाई ध्यानमा राखेर व्यावसायिक शिक्षामा जोड दिन थालेका छौं ।’सुदूरपश्चिमका युवाहरुले रोजगारीका लागी बाह्यमुलुक जानुपर्ने बाध्यताको अन्त्य गरिने उनले जनाए ।

कार्यक्रममा खड्काले कृषिलाई आधुनिकीरण गरी व्यवसायीमुखी बनाउन सहकारीमार्फत ब्याजमा अनुदान कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । ब्याज अनुदान कार्यक्रमलाई सहकारीमार्फत लैजान छलफल भइरहेको स्पष्ट पारे । कृषिमा सहकारीलाई जोडेर सदस्यहरूलाई स्वरोजगार बनाउने सरकारको नीति भएको उनले उल्लेख गरे । प्राविधिक शिक्षासँग रोजगारलाई जोड्न सीटीइभीटीसँग छलफल गरिएको चर्चा गर्दै उनले प्रदेश प्राविधिक शिक्षालय गठन गरी प्रदेशका युवालाई स्वदेशमै रोजगारी दिइने बताए ।

प्रतिक्रिया दिनुस