नेपालीहरूको महान् चाड दसैंमा उपभोग्य वस्तुको आयात ह्वात्तै बढेको छ। खाद्य वस्तु, लत्ताकपडादेखि घरायसी प्रयोगका सामानको आयात बढेको भन्सार विभागले जनाएको छ। यस्तै, पेट्रोल, डिजेल, एलपीजी ग्यास, गाडी, इलेक्ट्रोनिक सामान, सुनचाँदीको आयात पनि बढेको छ।अघिल्लो महिनाको तुलनामा दसैंमा ७० प्रतिशतले आयात बढेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।
खाद्यन्न, लुगाकपडा, माछा÷मासुसँगै नयाँ गाडी र इलेक्ट्रोनिक सामानहरूको खपत बढ्ने गरेको छ। अरू समयभन्दा दसैंमा नयाँ सामान जोड्ने र मीठो खाने प्रचलन छ। यसले उपभोग्य वस्तुहरूको खपत बढाइरहेको छ। यो महिना ४६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको छ। विभागले चालू महिनामा ४४ अर्बको राजस्व लक्ष्य राखेको थियो। निर्धारित समयभन्दा पहिले नै राजस्व लक्ष्य पूरा भएको प्रवक्ता खड्काले बताए। बजारमा महँगी भने अचाक्ली बढेको छ। कालोबजारी ऐन २०३२ अनुसार आयात लागतको २० प्रतिशतभन्दा बढीले बजार मूल्य निर्धारण गर्न पाइँदैन। वास्तविकतामा भने बजार भाउ ३ देखि ४ सय प्रतिशतसम्म बढी छ।
व्यावसायिक घरानाको हस्तक्षेप, फितलो अनुगमन प्रणाली, समान दण्डजरिवानाको व्यवस्था नहुनु जस्ता कारणले बजार भाउ नियन्त्रण बाहिर रहेको अर्थविद् बताउँछन्। यसपटक बजारमा दसैंका लागि नयाँभन्दा पुरानै रेडिमेड लुगाको स्टक छ। कोभिड– १९ का कारण तातोपानी र रसुवा नाकामा कोटा प्रणालीमा गाडी छोड्ने हुँदा पर्याप्त मात्रामा नयाँ लुगा नआएको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले बताए। रेडिमेड लुगाका लागि नेपालको आयातको मुख्य केन्द्र चीन हो।
अन्य समयभन्दा दसैंमा नयाँ लुगाको माग ३५ प्रतिशतले बढ्छ। त्यसैगरी व्यापार पनि बढी नै हुने गरेको छ। तर, बजारमा मागको ४० प्रतिशत पनि आयात गर्न नसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। अहिले तातोपानी नाकाबाट दैनिक १२ गाडी र रसुवा नाकाबाट दैनिक ७ देखि ९ वटा गाडी मात्रै छाड्ने गरिएको छ। सामान नाकामा होल्ड हुँदा आएका सामानहरूको लागत बढ्ने र बजारमा महँगोमा बेच्नुपर्ने उनले जानकारी दिए। दुवै नाकामा गरी करिब ५ सय गाडी होल्डमा बसेका छन्।
६० प्रतिशत खसीबोका खपत 
अरू बेलाभन्दा दसैंमा ६० प्रतिशतले खसीबोकाको खपत बढ्ने गरेको पशु सेवा विभागका वरिष्ठ पशु अधिकृत डा। चन्द्र ढकालले जानकारी दिए। उपत्यकामा मात्रै ५० हजार बढी खसीबोकाको माग हुने गरेको छ। दसैंको समयमा मात्रै करिब ६० अर्ब रुपैयाँ बराबरको मासु खपत हुने गरेको उनले बताए।
नेपालमा मासुको वार्षिक खपत भने ५ लाख ५३ हजार मेट्रिक टन छ। मागको करिब १० हजार खसीबोका मात्रै आयातित हुने गरेको उनले बताए। आन्तरिक उत्पादनबाट नै अहिले खसीबोकाको माग धान्न थालिएको छ।
खसीबोकाको ६ देखि साढे ७ सय र च्याङ्ग्राको मूल्य १ हजार ३ सय रुपैयाँ प्रतिकिलो छ। राँगा ४ सय, बंगुर, ५ सय र कुखुराको प्रतिकिलो ३ सय रुपैयाँ माथि मूल्य छ। विभागले मासुका लागि खसी किन्दा स्वस्थताको प्रमाण हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि १ हजार ९ सय ५९ वटा खसीबोका ल्याएको थियो। कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीका अनुसार मंगलबारसम्म ती खसीबोका बेचिसक्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुस