महेन्द्रनगर । बाढी पहिरोबाट सुदूरपश्चिममा १६ जनाको ज्यान गएको छ । आइतबारदेखिको वर्षाले बाढी पहिरोमा परि मृत्यु भएका १५ जनाको सनाखत भएको प्रदेश प्रहरीले जनाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका ९, बैतडीका ४ र  डडेल्धुराका दुई  जना मृतकको सनाखत भएको छ ।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्कीसहित ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रबिन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै शिखर नगरपालिका वडा नम्बर ११ मा ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ। गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लाग्दा घाइते भएकी उनको सुजङ अस्पताल राजपुर डोटीमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ। उता डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक चन्दले जानकारी दिए। यस्तै डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो।

घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए। खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताए।

बैतडीको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की उनका २४ वर्षीया श्रीमान भानु पार्की तथा तीन वर्षीया छोरी सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन् । यस्तै बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ५ बिष्टपाली बस्ने खडकसिंह बिस्टको घरको माथीबाट पहिरो जादा ७१ वर्षीया परुदेवी महराको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बैतडीको शिवनाथ गाउँपालिकाका मृतको नाम भने सनाखत गरेको छैन।

यस्तै डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना पहिरोमा परि घाइते भएका छन् । उता बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए। उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन्। यस्तै सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन् । यस्तै कैलालीमा चार जना बेपत्ता छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएका थिए। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै गणेश आउजी खुटिया खोलाले बगाउदा बेपत्ता छन् । यस्तै डोटीको सायल गाउँपालिका १ रोकाया गाउँ बस्ने ७४ वर्षीय बिरे रोकायालाई स्थानिय छपाली बजार बाट घर जाने क्रममा घर नजिकै रहेको हुगे खोलाले बगाएर बेपत्ता पारेको छ।

प्रतिक्रिया दिनुस