महेन्द्रनगर । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना उद्धारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्धारको पर्खाइमा बसेका उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । मङ्गलवार उनीहरूको उद्धार गर्ने तयारी भए पनि मौसम प्रतिकुल बन्दा सम्भव भएन । बुधवार बिहानै उनीहरूलाई उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको सुदूरपश्चिम प्रदेश सरकाकि प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

‘पहिलो चरणमा हामी त्यहाँ हेलिकप्टर पठाएर उद्धार गर्ने विषयमा नेपाली सेनासँग समन्वय गरिरहेका छौँ,’ उनले भनिन् ।
बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरो परि २३ जना बेपत्ता छन् । उनीहरूको पनि हेलिकप्टरबाट खोजी गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुस