महेन्द्रनगर । महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ । आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि महाकाली नदीको बाढी बस्तीमा छिर्ने खतरा बढेको हो ।
बाढी बस्तीमा छिरेसँगै पछि भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ का चार सय बढी घर परिवार विस्थापित हुने भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेका अनुसार ५ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । डिएसपी न्यौपानेले भने,–‘ महाकाली नदिको बहाव बढ्दैगएपछि बस्ती खतरामा देखीएकाले सुरक्षीत स्थानमा जान माइकीङ र बस्ती सुरक्षीत स्थानमा सार्नेकाम भइरहेको छ ।’ जिल्लामा अहिले सम्म धनजनको क्षती भने नभएको प्रहरीले जनाएको छ ।

महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । मंगलबार ९२ वर्ष यताकै ठूलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ । जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रका अनुसार महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । यसअघि, सन् २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो । उता दोधारा चाँदनी नगरपालिकामा अधिकांश घरहरु डुवानमा परेपछि झण्डै तीन सय बढी घरपरिवार विस्थापित भएका छन् ।

विस्थापितलाई विद्यालय तथा अन्य सुरक्षित ठाउँमा राखिएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार महाकाली नदिमा पानीको बहाव साढे तीन लाख क्युसेक मापन गरिएको छ । नदीमा बहाव घट्दो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुस