महेन्द्रनगर ।  भारी वर्षासँगै आएको बाढीले कैलालीमा १५ सय घरपरिवार विस्थापित भएका छन् । लगातार ३ दिनको भारी वर्षाका कारण कैलालीको पूर्वी क्षेत्रमा उक्त संख्यामा परिवार विस्थापित भएका हुन् । जिल्लाको टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले अत्याधिक क्षती पु¥याएको जनाइएको छ ।
टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले आंशिक रुपमा भत्किएको घर पनि पुननिर्माण नगरी बस्न सकिने स्थिति नरहेको बताइन् । नगरपालिकाको टोली अत्याधी पानीले गाउँ जान नपाउदा क्षतिको यकिन विवरण अझै आउन नसकेको उनले जनाइन् । “चार पाँच सय घरमा क्षति भएको देखिएको छ,” उनले भनिन्, “अझै पानी रहेकाले एक हजार भन्दा बढी घर भत्कीएको हुन सक्ने अनुमान गरेका छौँ ।”
अहिले उक्त क्षेत्रका स्थानिय विद्यालय, सडकछेउछाउ र आफन्तको आश्रयमा बसेको नगरपालिकाले जनाएको छ । टिकापुर नगरपालिकाका मेयर टपेन्द्र रावलले एक हजार ८३ विद्यालय, एक सय ९८ सडक छेउछाउ र तीन सय १५ आफन्तको आश्रयमा बसेको बताए । उनले दुई हजार दुई सय ५१ परिवार बाढी प्रभावित भएको जनाए ।
टीकापुर नगरपालिका वडा नम्बर ८ का ८ सय बढी परिवार विस्थापित भएका छन् । रातिको समयमा बाढी बस्तीमा पसेकाले स्थानीयले खाद्यान्न लुगाकपडा लगायतका सामान जोगाउन नसकेको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । बाढी विस्तापित परिवारलाई त्रिभुवन मावि, राष्ट्रिय प्रावि, कालिमाटी प्रावि र वनगाउँ, फाँटा, सूर्यपुर लगायतका सुरक्षित स्थानमा राखिएको उनले बताए ।
चिसापानीमा रानी जमरा कुलरिया सिचाई आयोजनाको बाँध र टीकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा तटबन्ध भत्काएर मंगलबार गाउँ पसेको थियो । सो बाढी टीकापुर नगरपालिका वडा नं. ८ मा रहेको अर्नुवा, सुनारटोल, वनगाउँ, फाँटा, तिमिल्सैन, रामडाँडा, बटनपुरसम्म फैलिएको छ । शाहीपुरबाट छिरेको बाढीले सत्ती नजिकै करिव तीन सय मिटर हुलाकी सडक बगाएर वडा नम्बर ८ का बस्तीमा छिरेको वडा अध्यक्ष ठकुल्लाले बताए ।
टीकापुरको वडा नम्बर ७ का ५० र वडा नम्बर ९ का ६० परिवार विस्थावित भएका छन् । जानकी गाउँपालिकाको वडा नम्बर ९ मा ६०, वडा नम्बर ३ मा ५० र वडा नम्बर ६ मा ६ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालयमा राखिएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले बताए ।
टीकापुर नगरपालिकाका अनुसार बाढीले खेतमा ढुंगा बालुवा थुपारेको छ भने नगरपालिकाभित्र रहेको हजारौं विघा खेतमा रहेको धान समेत नष्ट भएको छ । कृषि ज्ञान केन्द्र कैलालीले टीकापुर क्षेत्रमा सबै भन्दा बढि धानबालीमा नोक्सान भएको जनाएको छ ।
बाढीबाट विस्तापितहरुले खानसमेत अन्न नभएको गुनासो गरेका छन् । टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरका बाढी विस्थापित शम्भु परियारले घरमा जान नसकिनेस्थिति रहेको र सडकमै पकाएर खानका लागि अन्न नरहेको बताए । उनले राति सुतिरहेको बेला पानी परेको हुनाले लत्ता कपडा, खाने कुरा कुनै पनि नलिएर सडकमा आएको बताए । स्थानीय अजित रावलले घर र खेतमा भएको अन्न सबै बाढीले बगाएको बताए । उनले घरसँगै घरमा रहेको सबै कपडा भिजेको बताए । बाढी विस्थापित जानकी गाउँपालिका वडा नम्बर ९ का छविलाल माझिले घर डुवेको हेर्न धेरै मानिस आएपनिखान बस्न व्यवस्था सकैले पनि नगरिदिएको गुनासो गरे ।

प्रतिक्रिया दिनुस