अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण चार दिनदेखि अवरुद्ध धनगढी–डडेल्धुरा जोड्ने सडक पुर्ण रुपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गका दर्जनौ स्थानमा बाढी र पहिरोले पुर्याएको क्षति तत्काल मर्मत संभार गर्न संभव नभएका कारण सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुुर्ण रुपमा सञ्चालनमा आउन थप केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले आशिंक रुपमा अहिले सडक सञ्चालन भएपनि पुर्ण रुपमा भने सञ्चालनमा आउन नसकेको बताए ।
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– १ साहुखर्क, वडा नम्बर ३ गाईलीखेत, सेल्तडा, नवदुर्गा गाउँपालिका – ३ गजरौला आलिताल गाउँपालिका – १ घण्टेश्वर, वडा नम्बर ३ कटाल लगायत दर्जनौ स्थानमापहिरोका कारण सडक अबरुद्ध भएको बताउदै प्रमुख जिल्ला अधिकारी जोशीले सडकमा खसेको पहिरो स्काभेटरबाट हटाउने प्रयास भैरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी जोशीले भीमदत्त राजमार्गका दर्जनौ स्थानमा पहिरो खसेका कारण तत्काल हटाउन संभव नभएकोले उक्त सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने बताए ।त्यस्तै सडक अबरुद्धका कारण चारदिन देखि डडेल्धुरामा रहेका धनगढीका देवेन जोशीले निकै कष्टकर यात्रा गर्दै धनगढी पुगेको बताए । उनले दर्जनौ स्थानमा सडक भत्काएको, रुखहरु सडकमै ढलेका कारण सडक खुल्न अझै केहिदिन लाग्ने बताए ।