महेन्द्रनगर । बाढीपहिरो र डुवान क्षेत्रको अनुगमनमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवारले कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुल जोड्ने सम्पर्क सडक ‘भाइरल रोड’ कटानको निरीक्षण गरेका छन् । धनगढीबाट शुक्रबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर देउवा अनुगमनमा निस्किएका हुन् ।

यसअघि प्रधानमन्त्री देउवा बिहीबार बेलुकी कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका पुगेर धनगढी फर्किएका थिए। निरीक्षणका क्रममा भीमदत्त नगरपालिका–१२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लालबहादुर शाहीले प्रधानमन्त्री देउवालाई तटीय क्षेत्रको समस्या र ६ लेन सडक कटानबारे ‘ब्रिफिङ’ गरे । अध्यक्षद्वय अध्यक्षले ५० मिटर लामो ६ लेन सडक कटानी हुनुमा ठेकेदार कम्पनीको लापरवाही र डिजाइनमा भएको गडबडीबारे सरकारले छानबिन गर्नुपर्ने माग राखे ।

तर, प्रधानमन्त्री देउवाले त्यसबारे केही बोलेनन् । उनले काठमाडौं फर्केपछि राहत प्याकेजको व्यवस्था गर्ने दोर्होयाए । भाइरल रोडमा प्रधानमन्त्रीले दुई मिनेट आश्वासन मन्तव्य राखेका थिए। प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखक सहभागी थिए ।

प्रतिक्रिया दिनुस