धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि उडान भर्ने भएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले भने।

उनका अनुसार दुबै रुटका लागि भाडादर कायम भइसकेको छ। ‘धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडादर कायम भएको छ,’ भट्टले भने, ‘धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी आउदा ३ हजार ८९५ भाडादर कायम भएको छ।’ बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले सस्कृति, पर्यटन तथा नागरि उड्डन मन्त्री प्रेम आलेको आदेशमा वायुसेवा निगमले उडान सुरु गर्न लागेको हो। अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एयरले मात्रै उडान भर्दै आएको थियो।

प्रतिक्रिया दिनुस