काठमाडौं-हालसम्म १९ वटा लघुवित्तले आर्थिक वर्ष २०७७र७८ का लागि लाभांश घोषणा गरेका छन्। हालसम्मको घोषित गरेको लाभांश मध्ये सबैभन्दा बढी महिला लघुवित्तको देखिएको छ। यो लघुवित्तले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

स्वाभिमान लघुवित्तले कुल ३४ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३२.३ प्रतिशत बोनस सेयर र १.७ प्रतिशत नगद लाभांश रहेका छन्। यस्तै, सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस र १.६३ प्रतिशत नगद गरी कुल ३२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ। सर्पोट लघुवित्तले पनि कुल ३१.५७८९ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३० प्रतिशत बोनस र १.५७८९ प्रतिशत नगद लाभांश रहेका छन्।

यसैगरी,ग्लोबल आईएममी लघुवित्त २८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ भने लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस र ७.३६८४ प्रतिशत नगद गरी कुल २७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। आशा, साधना र स्वरोजगार लघुवित्तले समान २५ प्रतिशत बोनस सेयर घोषणा गरेका छन्। साधनाले १.३२ प्रतिशत नगद र आशाले १.३१ प्रतिशत नगद लाभांश घोषणा गरे पनि स्वरोजगार नगद लाभांश घोषणा गरेको छैन। त्यस्तै स्वावलम्बन लघुवित्तले पनि १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश घोषणा गरेको छ।

त्यस्तै, २० प्रतिशतभन्दा माथि लाभांश घोषणा गर्नेमा मिर्मिरे, डिप्रोक्स, सिभिल, मेरो माइक्रोफाइनान्स र नेरुडे लघुवित्त रहेका छन्। गुराँस लघुवित्तले १७.७९ प्रतिशत, आएसडीसीले १०।५२ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। हालसम्म सबैभन्दा कम एनआईसी एसिया लघुवित्तले ५.४१ नगद लाभांश मात्रै घोषणा गरेको छ।

प्रतिक्रिया दिनुस