फाइल ।

बैतडी–बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले बगाएको छ भने अधिकांश खानेपानीका ट्यांकी, पाइप र च्याम्बरहरुमा क्षति पुगेको छ । ३१ असोजदेखि २ कात्तिकसम्म विभिन्न स्थानमा खसेको पहिरोले ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी आएकोे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकामा अन्य ठाउँको तुलनामा खानेपानी आयोजनामा बढी क्षति भएको प्रारम्भिक तथ्यांक आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले बताए । आयोजनाहरूमा क्षति पुगेपछि जिल्ला सरमुकामसहित विभिन्न स्थानमा खानेपानीको अभाव हुन थालेको छ । दशरथचन्द नगरपालिका–४ शाहीलेकका देवराम लोहारले भने, ‘हाम्रो नजिकका करिब एक दर्जन खानेपानीका आयोजना अवरुद्ध भएको छ । नजिक धारा तथा कुवा केही छैन ।

अहिले पानी ल्याउन दैनिक दुई घण्टा हिँडेर जानु पर्छ । बोकेर ल्याएको पानी पिउन र खाना पकाउन मात्रै प्रयोग गर्छौं ।’ खानेपानीको मुहानमै पहिरो खसेपछि कात्तिक पहिलो सातादेखि सदरमुकाम आसपास पानीको हाहाकार भएको छ । जिल्ला सदरमुकाममा आउने खानेपानीको मुहान बनाउन सरोकारवालाका साथै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको टोलीले ६ दिनदेखि काम गरेको छ । मंगलबार ट्यांकीसम्म पानी पुर्याउन सके पनि पाइपलाइन बगाएका कारण अझै केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

प्रतिक्रिया दिनुस