कञ्चनपुर, १० कार्तिक । कञ्चनपुरको बेलौरीमा गैँडाको आक्रमणमा परी एक जना घाईते भएका छ । वेलौरीका स्थानीय ५३ वर्षीय बलिराम राना घाइते हुनु भएको हुन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिरिएर करिब २ महिनायता गोरखनाथ सामुदायिक वन क्षेत्रमा रहेको गैँडाले बेलौरीको मैनाहा लामिताल नजिक बुधबार बिहान रानालाई आक्रमण गरी घाइते बनाएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो । गैँडाको आक्रमणबाट पिठ्युँमा गहिरो चोट लागेपछि रानाको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख यादवका अनुसार, कञ्चनपुरमा गैँडाले मानवलाई आक्रमण गरेको यो घटना पहिलो हो । वन्यजन्तु राहत निर्देशिका २०६८ बमोजिम पीडितलाई क्षतिपूर्ति दिइने उहाँले बताउनु भयो । गोरखनाथ सामुदायिक वन, अमर स्मृति सामुदायिक वन र पारिजात सामुदायिक वनका उपभोक्ता तथा आसपासको क्षेत्रमा आवतजावत गर्ने आम नागरिकहरूलाई सतर्क रहन समेत डिभिजन वन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ । कञ्चनपुरमा जङ्गली हात्ती तथा चितुवाले समेत मानव बस्तीमा जनधनको क्षति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस