१२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । बेलायतको ग्लास्गो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केही बेरअघि विमानमा त्यसतर्फ गएका हुन् । कतार एयरलाइन्सको क्यूआर ६४९ विमानबाट नेपाली प्रतिनिधिमण्डल बेलायत गएको हो ।

बेलायतको ग्लास्गो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रम सहभागी हुनेछन् । प्रम देउवाका प्रेस मामिला हेरिरहेका गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवा भोलि कात्तिक १३ (अक्टोबर ३०) मा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी–एन) र यूके–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् त्यसपछि उनी कात्तिक १४ गते लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

साथै गोर्खा भेटेरान्स संगठनका सदस्य, बेलायती सांसद र नेपाली डायस्पोराका अन्य सदस्यसँग भेटघाट गर्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवाले कात्तिक १५ (नोभेम्बर १) मा संयुक्त राष्ट्रसंघीय सम्मेलन सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन्। साथै उनले विभिन्न राष्ट्र तथा सरकारका प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ता गर्नेछन् । बेलायत बसाइका क्रममा प्रधानमन्त्री देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र नेपालीहरूसँग भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले कात्तिक १५ साँझ बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्र र सरकार प्रमुखहरूको स्वागतामा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

कात्तिक १६ गते बेलायती प्रधानमन्त्री जोन्सन र स्कटल्यान्डका फस्ट मिनिस्टरले आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा पनि देउवा सामेल हुनेछन् । यस्तै कात्तिक १७ गते प्रधानमन्त्री देउवाले रोयल बोटनिक गार्डेन भ्रमण गर्नेछन् । त्यस क्रममा उनले त्यहाँ सम्बोधनका साथै नेपाली गार्डेनमा बिरुवा रोप्नेछन् । प्रधानमन्त्री देउवाको टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादवसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । नेपाली प्रतिनिधिमण्डल कात्तिक १७ गते बेलायतबाट प्रस्थान गर्नेछ भने १८ गते स्वदेश आइपुग्ने कार्यक्रम छ ।
कार्यवाहक प्रधानन्त्रीको जिम्मेवारी खाँणलाई

प्रम देउवा बेलायतबाट फर्किन्जेल सम्म कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले सम्हालेका छन् । बेलायत प्रस्थान गर्नुअघि प्रधानमन्त्री देउवाले बिहीबार साँझ नै खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका हुन् । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नराखिएकाले दोस्रो वरीयतामा रहेका गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसबमोजिम राष्ट्रपपति भण्डारीले देउवाको अनुपस्थितिमा उनले गर्ने गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी गृहमन्त्री खाँणलाई तोकेकी छन् ।

प्रतिक्रिया दिनुस