बझाङ–असोज अन्तिमदेखि भएको वर्षापछि बझाङको सुर्मा गाउँपालिकामा २० परिवारको उठिवास भएको छ । गाउँपालिकाका १ सय ८० घरमा आंशिक क्षति पुगेको छ भने ५० घर उच्च जोखिममा परेका छन् । ५ वटा वडा रहेको सुर्मा गाउँपालिकामा सबैभन्दा बढी क्षति वडा नम्बर ५ मा भएको छ । वर्षाका कारण सुर्मा गाउँपालिकाका विभिन्न ठाउँमा खानेपानी, सिँचाइ र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले गाउँपालिकामा ३० वटा खानेपानीका पाइपलाइन बाढी पहिरोले बगाएको जनाए भने ३ वटा कुलो भत्काएको बताए । उनले खानेपानी अभावमा गाउँमा हाहाकार भएको बताए । अध्यक्ष बोहराले भने, ’हिँड्ने सडक छैन, पिउने पानी छैन, खोलाका घट्ट सबै बगिसके।’

उनका अनुसार काँडा गाउँका मात्र करिब ३० परिवार विस्थापित भएका छन् । पहिरोले सुर्मा गाउँपालिकामा खानेपानी र सिँचाइको रुपमा प्रयोग भएका गाड, खोला र माटो फुटेर आएको बाढीले सबै संरचना क्षतविक्षत पारेको छ । आफ्नो घरमात्र नभएर पूरै गाउँ नै बगरमा परिणत भएकाले आफूहरूलाई सुरक्षित बासका लागि सबैले पहल गरिदिन स्थानीय बमबहादुर बोहराले आग्रह गरेका छन् । गाउँपालिकाले बाढी पहिरोले क्षति र्पुयाएका ठाउँको स्थलगत अवलोकन गरेको छ।

अवलोकन टोलीमा गाउँपालिका अध्यक्ष बोहरा, ५ जना वडाध्यक्ष, उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेली, पत्रकार र प्रहरीसमेत थिए। घरबारविहिनका लागि घरटहरा तथा विस्थापित र उच्च जोखिममा रहेका परिवारलाई राहतको व्यवस्था गर्न प्रदेश सरकारसँग छलफल भइरहेको गाउँपालिका अध्यक्ष बोहराले बताए।

प्रतिक्रिया दिनुस