कैलाली : कोरोनाको जोखिम रहेको भन्दै कैलालीमा राति ८ बजे पछि देउसीभैलो खेल्न रोक लगाइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै ८ बजे पछि देउसीभैलो खल्न रोक लगाएको हो ।
सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुने गरी कानून विपरित अवाञ्छित गविबिधि समेत हुन सक्ने भएको र विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ महामारीको संक्रमण समेत फैलिन सक्ने भएको हुँदा देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु दिपावलीको समयमा बेलुका ८ बजे सम्म मात्र गराउन भनिएको छ । प्रशासकीय अधिकृत यादव बहादुर भण्डारीद्धारा जारी सुचनामा पटका, अतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसारपसार नगर्न पनि आग्रह गरिएको छ ।
सूचनाको अवज्ञा गरेमा कडा भन्दा कडा कारवाही हुने जनाइएको छ । साथै दिपावलीको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवंम् विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगजनी जस्ता विपद्का घटनाहरु घट्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरिएको छ ।